सुनसरी । नेपाली काङ्ग्रेसको गढ मानिएको इनरुवा नगरपालिकामा आफ्नो उम्मेदवार जिताउन नेकपा एमालेले तयारी थालेको छ ।
जिल्लाको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा प्रमुख र उपप्रमुख आफ्नो पक्षमा पार्न नेकपा एमाले सक्रिय भएर लागेको नेकपा एमाले पार्टीका सम्भावित उम्मेदवार मध्येका एक मनोज मेहताको दाबी छ ।
लामो समयदेखि नेपाली काङ्ग्रेसको ूलालकिल्लाू मानिएको इनरुवा क्षेत्रमा काङ्ग्रेसले आफ्नो दबदबा कायमै राख्ने प्रयास गरिरहेको छ भने नेकपा एमालेले यसपटक जसरी पनि आफ्ना उम्मेदवारलाई जिताउने योजना बनाइरहेको अवस्था छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र तत्कालीन फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेका मनोज मेहतालाई पराजित गर्दै काङ्ग्रेसका उम्मेदवार राजन मेहता विजयी भएका थिए ।
निर्वाचनको मिति घोषणा भएसँगै इनरुवा नगर प्रमुख पदका लागि मुख्य दलबाट उम्मेदवार बन्न चाहने आकांक्षीले आन्तरिक रूपमा लबिङ गरिरहेका छन् ।
अगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट इनरुवा नगरपालिकाको मेयरमा मनोज मेहताले टिकट पाउने सम्भावना रहेको श्रोतको दाबी छ । केही दिनअगाडि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौमा टीका लगाएर पार्टीमा स्वागत गरेका मेहता इनरुवा नगरप्रमुखमा एमालेको तर्फबाट टिकटमा पाउने सम्भावना देखिएको श्रोतको बुझाई छ ।
एमाले अध्यक्ष ओलीले मेयर उठाउने ‘ग्रिन सिग्नल’ दिएपछि उनी पार्टीमा प्रवेश गरेका हुन श्रोतले भन्यो त्यसैले मनोज मेहता यसपटक काङ्ग्रेसका उम्मेदवार हराउँदै एमाले जिताउने तयारीमा जुटिसकेका छन् ।
नेकपा एमाले सुनसरीले आगामी चैत्र ३० गतेभित्र जिल्लाको १२ वटै स्थानीय तहका मेयर सहितका उम्मेदवारहरु टुंग्याउने तयारी गरिरहेको नेकपा एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीले बताएका थिए ।
अघिल्लो निर्वाचनमा तत्कालिन फोरम लोकतान्त्रिकबाट इनरुवा नगरमा मेयर पदको उम्मेदवार बन्दा सो पार्टीको संगठन कमजोर हुँदा समेत आफूले लोकप्रिय मत प्राप्त गर्न सफल भएको अवगत गराउदै मनोज मेहताले भने इनरुवामा मेहता समुदायको बाहुल्यता छ, एमालेले पनि यसपटक मेहता समुदायबाटै उम्मेदवार छान्दा जित निश्चित छ ।
गत स्थानीय निर्वाचनमा एमालेबाट इनरुवाको मेयरमा उम्मेदवार बनेका पोष्टकुमार नेपालले नै दोहोरिन खोजेपनि उनले फेरि चुनाव जित्न कठिन रहेको आकलन एमाले नेता कार्यकर्ताहरुले गरि रहेका छन् । इनरुवा नगरपालिकामा एमालेकै बहुमत रहँदा पनि पार्टीको एजेण्डा कार्यान्वयनमा असफल भएका तत्कालीन मेयर पदका उम्मेदवार पोष्टकुमार नेपालले जित्न नसक्ने मेहताको दाबी छ । एमालेका नेता कार्यकर्ता तथा पार्टीले निर्णय गरेर आफूलाई जुनसुकै ठाउँमा अवसर दिएको अवस्थामा जिम्मेवारी निर्वाह गर्न पछाडि नपर्ने उनको भनाइ छ ।
इनरुवाको मेयर पदमा एमालेबाट दाबी गर्नेहरूमा एमाले सुनसरीका पुराना नेता खेमराज पोखरेल, इन्द्र पोखरेल र सरोज पोखरेल समेत छन् ।
यता नेपाली काङ्ग्रेसबाट इनरुवा नगरपालिकाको मेयर पदका लागि जिल्ला सभापति केदार भण्डारीसँगै वर्तमान मेयर राजन मेहताले लबिङ गरिरहेका छन् । अघिल्लो निर्वाचनबाट आफूले पाएको अवसर सदुपयोग गर्दै चौतर्फी विकास निर्माणकार्य गर्न सफल भएकाले यसपटकसमेत मेयरको टिकट आफूले पाउनुपर्ने पक्षमा मेयर राजन मेहता रहेका छन् भने काङ्ग्रेसबाट २०७४ सालमा टिकट पाएर निर्वाचित भएपनि जनअपेक्षाअनुसार राजन मेहताले काम गर्न नसकेको बताउदै नयाँ अनुहार मेयरमा ल्याउनुपर्ने पक्षमा केदार भण्डारी रहेको श्रोतको दाबी छ ।
नेपाली काङ्ग्रेसबाट सभापति भण्डारीले टिकट पाएको अवस्थामा मेहता समुदायको पकाउ रहेको इनरुवा नगरपालिकाको मेयर पदमा नेकपा एमालेको तर्फबाट मनोज मेहताले टिकट पाउने सम्भावना थप बलियो हुने बुझिएको छ ।