विराटनगर । मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले सरकारी गाडी फिर्ता गरेका छन्।
फागोले आफूले चढ्दै आएको को १ झ ५७० नम्बरको गाडी नगरपालिकालाई नै फिर्ता दिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् । उनी कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए।
एमालेबाट निर्वाचित उपमेयर लक्ष्मीदेवी भण्डारीसहित बहुमत कार्यपालिका सदस्यले विकासका योजना अघि बढाउन नदिएपछि नैतिक रूपमा अप्ठेरो परेकाले गाडी फिर्ताको निर्णय लिएको फागोले बताए।
उर्लाबारी नगरपालिकाको कार्यपालिका बैठक गत चैत १६ गते बोलाइएको थियो। नेकपा एमालेबाट निर्वाचित भएकाहरुले नमानेपछि बैठकमा प्रस्तुत भएका प्रस्तावका बारेमा कुनै निर्णय हुन नसकेको जानकारी उनले दिए। उनका अनुसार बैठकमार्फत कार्यविधि निर्माण गरेर ६ करोड ३७ लाखको सञ्चित कोषको बजेटबाट विकास निर्माणका कामलाई अघि बढाउने योजना थियो।

‘कार्यविधि बनाएर प्रत्येक वडामा सडक कालोपत्रेका लागि ३० लाखका दरले रकम छुट्याउने योजना थियो। सञ्चित कोषको बजेटबाट विकासलाई अघि बढाउन खोजेका थियौँ,’ मेयर फागोले भने, ‘एमालेबाट निर्वाचित जनप्रतिनिधिले नदिएकाले बैठकबाट निर्णय गर्न सकिएन। जसका कारण विकासका काम रोकिएपछि सरकारी गाडी चढेर हिँड्नु उपयुक्त लागेन।’
काग्रेसबाट निर्वाचित वडाध्यक्षलाई पनि सरकारी मोटरसाइकल फिर्ता गर्न उनले आग्रह गरेका छन्। एमालेको अवरोधका कारण कार्यकालको अन्तिम समयमा आएर जनताको काम गर्न नसकेकोमा दुःख व्यक्त गर्दै फागोले चैत महिनादेखि आफूले नगरपालिबाट कुनै पनि सेवासुविधा नलिने घोषणासमेत गरेका छन्।
जनप्रतिनिधि आएपछि २५ कार्यविधि, १८ वटा ऐन, छवटा नियमावली, चारवटा निर्देशिका र एउटा आचारसंहिता बनाएको बताउँदै उनले थप कार्यविधि बनाउन खोज्दा एमालेका जनप्रतिनिधिले रोकेको उल्लेख गरे।