बिर्तामोड । न्याय सम्पादनमा जिल्लामै उत्कृष्ट भएको झापाको बिर्तामोड नगरपालिकाका उप–प्रमुख पवित्रा महतारा प्रसार्इंले आसन्न स्थानीय तहको निर्वाचनमा नगर प्रमुखमा उम्मेदवारी दिने चाहना रहेको बताएकी छन् ।
नगरपालिका कार्यालयमा सोमबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले विगत ५ वर्षमा आफूले गरेका कार्य प्रगति सार्वजनिक कार्यक्रममा नगर प्रमुख पदमा उम्मेद्वारी दिने बताएकी हुन् । प्रसाईंको नेतृत्वमा रहेको न्यायिक समिति, अनुगमन समिति, राजश्व परामर्श समितिलगायतले गरेको काम उनले पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेकी हुन् ।
विगतका अनुभवअनुसार काम गर्न चाहँदा सकिन्छ भन्ने कार्यानुभव प्राप्त भएको बताउँदै उनले नयाँ जिम्मेवारी पाए नयाँ योजना ल्याउन सकिने धारणा राखिन् । आबद्ध पार्टी नेकपा (एमाले) ले निर्णय गरेर दिए आफू नगर प्रमुख पदमा उम्मेदवारी दिन इच्छुक रहेको उनले बताइन् ।
वडाका मेलमिलाप केन्द्रलाई न्यायिक निरूपणमा अब्बल बनाइराख्नका लागि मेलमिलापसम्बन्धी तालिम लिएर योग्यता पुगेका उम्मेदवारहरूलाई मेलमिलापकर्तामा सूचीकृत गरी वडा कार्यालयको मेलमिलाप केन्द्रमा पनि सहजरूपमा उजुरीमाथि मेलमिलाप भइरहेको उनले बताइन् ।

वडाको मेलमिलाप केन्द्रमा पर्न आउने मुद्दाको छिटोछरितो न्यायिक निरूपण गर्नका निमित्त वडाध्यक्ष, वडाका मेलमिलाप केन्द्रका संयोजक तथा सदस्यसहित न्यायिक समितिका पदाधिकारी एवम् कर्मचारीलाई सामुदायिक मेलमिलाप र कानूनी सचेतना एवम् पुनर्ताजगी तालिमहरू सञ्चालन गरी मेलमिलापसम्बन्धी क्षमता विकास गरिएको प्रसाईंले वितरण गरेको प्रेस नोटमा उल्लेख छ ।
वडामा मेलमिलाप केन्द्र गठन भएपश्चात् लगभग ३ हजारको हाराहारीमा मुद्दा दर्ता भई निरूपण भएको उल्लेख छ । तीमध्ये २ हजारको हाराहारीमा मेलमिलाप केन्द्रमै मिलापत्र भएका छन् भने २ सयबढी मुद्दा न्यायिक समितिमा आएको बताइएको छ ।
नगरपालिकामा सामी परियोजना सञ्चालन भएका बखत वैदेशिक रोजगारसम्बन्धी दर्ता भएका मुद्दामा गराइएको र छलफलबाट ९० लाख हाराहारीको रकम पीडितलाई फिर्ता दिलाउन समिति सफल बनेको उनले बताइन् । कतिपय मुद्दामा वैदेशिक रोजगारमा लगेर उतै अलपत्र भएर बसेकालाई सम्बन्धित मेनपावर सञ्चालकलाई उपस्थित गराई फिर्ता ल्याइएका र मेनपावरले पासपोर्ट राखेर फिर्ता नदिएका पीडितलाई फिर्ता दिइएको उनले बताइन् ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको विषयक्षेत्र न्यायिक कार्यसम्पादनमा ७ पूर्णाङ्कमा ७ अङ्क नै प्राप्त गरी जिल्लामा प्रथम स्थान हासिल गर्न सफल भएको छ । झापा जिल्ला अदालतले गरेको अहिलेसम्मको अनुगमनका क्रममा बिर्तामोड नगरपालिका न्यायिक समितिको प्रक्रियागत काम उत्कृष्ट भएको प्रतिक्रिया दिएको छ ।