धरान । आठौं युनाइटेड गोर्खा एकेडेमी भलिबल कपको उपाधि छात्रमा इटहरीको सयपत्री शिशुसदन इङ्ग्लिस बोर्डिङ स्कुल र छात्रामा नमूना एकेडेमी तरहराले जितेको छ ।

कोरोना महामारीका कारण दुई वर्ष स्थगित भएको प्रतियोगितामा यस वर्ष छात्र र छात्रातर्फ ७–७ वटा टिम सहभागी बनेका थिए । बिहीबार स्कुलको भलिबल कोर्टमा सम्पन्न फाइनलमा सयपत्रीले नेपाल पुलिस स्कुललाई ३–१ को सेटमा हराउँदै उपाधि जितेको हो । त्यस्तै नमूना एकेडेमीले पनि धरान आदर्श स्कुललाई ३–१ को सेटमा नै हराएको थियो । विजेता टोलीले जनही नगद १७ हजार रुपैयाँसहित ट्रफी पाएको शिक्षक कर्मा शेर्पाले जानकारी दिए । 

त्यस्तै उपविजेता बनेको टोलीले जनही नगद १४ हजार रुपैयाँसहित ट्रफी पाएको छ । छात्रतर्फ समिट स्कुल तेस्रो बन्दा छात्रामा सयपत्री तेस्रो बन्दै जनही नगद १२ हजार रुपैयाँ पाएको छ । प्रतियोगितामा व्यक्तिगततर्फ नेपाल पुलिसका साहेब मन्सुरी बेस्ट प्लेयर, सयपत्रीका रोशन विस्ट बेस्ट स्पाइकर, नेपाल पुलिसका डिकेन्द्र रेवत बेस्ट डिफेन्स, नेपाल पुलिसकै सुरज यादव बेस्ट सेटर, सयपत्रीका किशन राई बेस्ट सर्भिस र सयपत्रीका अभिषेक चौधरी बेस्ट ब्लकर घोषित हुँदै जनही नगद १२ सय रुपैयाँ पाएको शिक्षक कर्मा शेर्पाले जानकारी दिए । छात्रामा धरान आदर्शकी प्रेसिका पराजुली बेस्ट प्लेयर, नमुनाकी सिर्जना कटुवाल बेस्ट स्पाइकर, नमुनाकै मीना बस्नेत बेस्ट डिफेन्स, नमुनाकै रेखा चौधरी बेस्ट सेटर, धरान आदर्शकी सिम्रन लिम्बू बेस्ट सर्भिस घोषित हुँदै जनही नगद १२ सय रुपैयाँ पाए । 

विजेताहरूलाई एनप्याब्सनका सुनसरी अध्यक्ष नारायण सन्जेल, आयोजक गोर्खा युनाइटेडका प्रिन्सिपल पेम्बा शेर्पा, समिट स्कुलका प्रिन्सिपल रमेश दाहाल, एनप्याब्सनका धरान नगर अध्यक्ष भगत लिम्बूलगायतले पुरस्कार वितरण गरे । बुधबारदेखि सुरु भएको प्रतियोगितामा ७ वटा स्कुलका छात्र–छात्रा टिमले भिडन्त गरेका थिए ।