धरान (ब्लाष्ट) बाह्रौं इटहरी गोल्डकपमा ए डिभिजन क्लब मनाङ मस्र्याङ्ग्दीलाई मोरङको सगरमाथा क्लबले पराजित गर्दै उपाधि होडमा प्रवेश गरेको छ ।
अब उसले विभागीय टिम त्रिभुवन आर्मी क्लबसँग उपाधिका लागि भिडन्त गर्नेछ । बिहीबार सम्पन्न खेलमा सगरमाथा फुटबल क्लबले मनाङलाई ४–२ गोलअन्तरले पराजित गरेको हो । मनाङले हालै दमक गोल्डकप जितेको थियो तर अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपमा भने सेमिफाइलनबाटै बाहिरिएको हो ।
सगरमाथाका लागि आशिष लामाले २ तथा भुवन बस्नेत र आवाश लामिछानेले एक–एक गोल गरे । मनाङका लागि अञ्जन बिष्ट र विदेशी खेलाडी अफिज ओलावालेले गोल गरे । तर, जितका लागि पर्याप्त भएन । मनाङले दोस्रो हाफमा लय गुमाउन पुग्दा सगरमाथाले पुनरागमन गरेको हो । खेलको म्यान अफ दी म्याच सगरमाथाका आशिष लामा घोषित हुँदै नगद दश हजार पाए । शनिबार हुने फाइनल विजेताले ७ लाख र उपविजेताले नगद ३ लाख ५० हजार रुपैयाँ पाउनेछ ।