विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन दलको सरकार भ्रष्ट भएकोले यसलाई डस्बिनमा फाल्नुपर्ने बताएका छन् । ‘गठबन्धनको भ्रष्ट सरकारलाई एमालेले डस्विनमा फाल्छ,’ उनले भने । 

आफ्नो नेतृत्वको सरकारको कारणले अर्थतन्त्र ध्वस्त भएको भन्नेहरुको मानसिक अवस्था ठिक नभएको बताए । विराटनगर विमानस्थलमा बुधबार संचारकर्मीसँग कुरा गर्दै ओलीले ९ महिना सरकारको नेतृत्व गरेर अर्थतन्त्र ध्वस्त बनाउने अनि पहिलेको सरकारले गर्दा यस्तो भयो भन्नु मानसिक असन्तुलनको उपज हुने आशय व्यक्त गरे । 

‘९ महिनामा अर्थतन्त्र ध्वस्त पार्ने अनि पहिलेको सरकारले यस्तो गर्यो भन्ने कुरा मानसिक सन्तुलनमा समस्या हो कि भन्ने सन्देह पैदा हुन्छ,’ ओलीले भने, ‘त्यस्तो कसैले भनेको हो कि होइन मैले सुनेको छैन, तपाईहरुबाट सुनेको हुँ, त्यतिसारो भनेको हो भने त्यो मानसिक असन्तुलन भएको हो कि भन्ने सन्देश पैदा हुन्छ ।’

उनले दुई चार जना, दुई चार जनाको पार्टी एकातिर वृहत एमाले एकातिर भएर चुनावमा लड्ने बताए । उनले राप्रपा वा अन्य दलसँग पनि निर्वाचनमा मिलेर जान सकिने बताए । 

विप्लवलाई देखाएर निर्वाचन सार्ने षड्यन्त्र भएका कारण आफूले सूर्य चिन्हमा चुनाव लड्न अपिल गरेको बताउँदै ओलीले निर्वाचन संविधान अनुसार हुनैपर्नेमा जोड दिए । ‘विप्लवलाई चुनावमा सहभागी हुन अपिल गरेका छौं । चुनाव सार्ने, गठबन्धनवालाहरुको षड्यन्त्र असफल भएको थियो फेरि त्यही षड्यन्त्र जगाउने गरी विप्लवलाई अगाडि देखाउने हो कि भन्ने शंका लागेर मैले त्यस्तो अपिल गरेको हुँ,’ उनले भने, ‘लोकतन्त्रका लागि संविधान अनुसार निर्वाचन हुनुपर्छ ।’