सुनसरी । ठूलो परिमाणमा लागूऔषधसहित पक्राउ परेका भारतीय नागरिक राजकुमार सिंहलाई जोगाउन अझै षड्यन्त्र भइरहेको पाइएको छ ।

धरानबाट २०७७ साल मङ्सिर १९ गते ७७ ग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका सिंहमाथि यथेष्ट प्रमाण हुँदाहुँदै पनि लागूऔषध मुद्दा अगाडि नबढ्नु र उनी भारतीय भएको भारतीय प्रहरीले नै पुष्टि गर्दासमेत नागरिकताका सम्बन्धमा सप्तरी प्रहरीले छानबिन गर्न आलटाल गर्नुले उनलाई जोगाउने षड्यन्त्र भइरहेको गुनासो आएको हो ।

कीर्ते गरी जिल्ला प्रशासन कार्यालय सप्तरीबाट झुठा प्रमाण पेश गर्दै नेपाली नागरिकता लिएका उनी भारतीय भएको भारतीय प्रहरीले आधिकारिक रूपमै पुष्टि गरेपनि आर्थिक प्रलोभनसँगै राजनीतिक दबावकै कारण सिंहको कीर्ते नागरिकताबारे अझै छानबिन अगाडि बढाउन सप्तरी प्रहरीले आलटाल गरिरहेको पाइएको छ् । जिल्ला अदालत सुनसरीको निर्णयअनुसार उनी अहिले पुर्पक्षका लागि जेलमा छन् । ब्राउनसुगर मुद्दामा सुनसरी जिल्ला अदालतको आदेश उच्च अदालत विराटनगरले समेत सदर गरिदिएपछि पुर्पक्षका लागि जेलमा रहेका भारतीय नागरिक राजकुमार सिंहलाई छुटाउन पुनः चलखेल भइरहेको पाइएको छ ।

‘नेपाली नागरिकको हकमा र विदेशी नागरिकको हकमा छुट्टाछुट्टै कानूनी प्रावधानको व्यवस्था छ’ स्रोतले भन्यो, ‘यदि लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका सिंह भारतीय वा विदेशी भएको पुष्टि भएमा उनलाई छुटाउन गाह्रो हुने भएकोले उनी भारतीय भएको आवश्यक प्रमाण हुँदासमेत उनको नागरिकताका सम्बन्धमा छानबिन गरिएको छैन ।’

पक्राउ परेका सिंह लागूऔषधको ठूलो गिरोहका सदस्य भएकाले उनी दोषी साबित भएको अवस्थामा गिरोहका अन्यबारेमा समेत खुल्ने डरले छुटाउन ठूलो आर्थिक चलखेलका साथै राजनीतिक दबावसमेत उत्तिकै रहेको स्रोतको दाबी छ ।

लागूऔषध मुद्दामा जेलमा रहेका भारतीय नागरिक सिंहलाई कीर्ते नागरिकता मुद्दामा कारबाही अगाडि बढाउने भन्दै सप्तरी प्रहरीको पत्राचारअनुसार सुनसरी जिल्ला अदालतले झुम्का कारागारलाई पत्राचार गर्दै अभियुक्त सिंहलाई बयानका लागि सप्तरी पठाउन भनिए पनि राजनीतिक दबावका कारण उनको बयान हुन सकेको छैन ।

लागूऔषध कारोबारीसँगै नेपाली र भारतीय गरी दोहोरो नागरिकता लिएका व्यक्ति भएको सबै प्रमाण हुँदाहुँदै पनि राजनीतिक संरक्षण पाएकै कारण सिंहको कीर्ते नागरिकतासम्बन्धी कारबाही अगाडि नबढाइएको स्रोतको आरोप छ । उनलाई छुटाउन बिचौलियाहरूले मुद्दा मिलाइदिने भन्दै ४० लाख रुपैयाँको माग गरेको स्रोतको भनाइ छ ।

दोहोरो मुद्दा चल्ने भएपछि छुटाउन गाह्रो हुने भन्दै दोहोरो नागरिकताको मुद्दा तत्काल नचलाउन सप्तरी प्रहरीमाथि दबाव दिएको स्रोतको भनाइ छ् ।  जिल्ला प्रहरी कार्यालय सप्तरीको चलानी नम्बर १०११० मिति २०७८ असार १३ गते थुनामा रहेका सिंहलाई नागरिकतासम्बन्धी कसुर बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयले सप्तरी पठाई पुनः झुम्का कारागार फिर्ता ल्याउन सुनसरी जिल्ला अदालतले झुम्का कारागार कार्यालयको नाममा पत्र काटेको थियो ।

रङ्गेहात पक्राउ परेका सिंहबारे यथेष्ट प्रमाणका बावजुद महिनौंसम्म नागरिकतासम्बन्धी छानबिन अघि नबढ्दा स्रोतको दाबीमा बल पुगेको देखिन्छ । लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका सिंहलाई छुटाउन पुनः ठूलो चलखेल भइरहेको स्रोतको भनाइ छ । उनको सम्बन्धमा वैशाख ५ गते जिल्ला अदालत सुनसरीले बकपत्रको लागि बोलाएको छ । सोही दिन अदालतले सिंहको साथबाट सुनसरी प्रहरीले बरामद गरेको ब्राउनसुगर परीक्षण गर्ने प्राविधिकहरूसमेतलाई उपस्थित हुन भनिएको छ ।