धरान । बाह्रवटा स्थानीय तह रहेको सुनसरीको एक स्थानीय तह धरानमा एक सय २ पदका लागि ४७१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
धरानस्थित निर्वाचन अधिकृतको कार्यालयका अधिकृत पुष्करराज नेपालका अनुसार आइतबार र सोमबार गरी कुल ४७१ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । प्रमुख पदमा मात्रै २२ जनाको उम्मेदवारी परेको छ । जसमा स्वतन्त्रबाट ७ जनाले उम्मेदवारी दिएका छन् ।
उपप्रमुख पदमा दुई स्वतन्त्रसहित ११ जनाको उम्मेदवारी परेको छ । उनका अनुसार विगतभन्दा स्वतन्त्र पदमा उम्मेदवारी दर्ता गराउनको संख्या बढेको छ । वडाध्यक्ष पदमा पनि स्वतन्त्र उम्मेदवार रहेको जनाइएको छ । कार्यालयका अनुसार वडाध्यक्षमा १ सय २४ जनाको उम्मेदवारी परेको छ ।
२० वटा वडा रहेको धरानमा २० जना वडाध्यक्ष निर्वाचित हुन्छन् । सत्तारुढ दलसँगै प्रतिपक्ष र साना दलहरूले पनि उम्मेदवारी दर्ता गराएका छन् । यस्तै महिला सदस्यमा ७६ जना, दलित महिला सदस्यमा ७२ जना, खुल्ला सदस्यमा १ सय ६६ जनाको उम्मेदवारी परेको छ ।

तस्बिरः उपेन्द्र चाम्लिङ