विराटनगर । निर्माण सामग्रीहरुमा अप्रत्यासित रुपमा मूल्यवृद्धि भएको भन्दै मोरङका निर्माण व्यवसायीहरु धर्नामा उत्रिएका छन् । 

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय सर्कुलेसन अनुसार मोरङका निर्माण व्यवसायीहरूले मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना दिएका हुन् । उनीहरूले ११ देखि १२ बजेसम्म प्रशासन कार्यालय अगाडी धर्ना दिए ।

नेपाल निर्माण व्यवसायी संघ मोरङका अध्यक्ष सुरेश राज सुवेदी निर्माण सामग्रीको अप्रत्यासित रुपमा मुल्यवृद्धि हुँदा निर्माणको काम अगाडि बढाउन नसकिएको बताए ।   निर्माणको काम अगाडि बढाउनका लागि सरकारले अविलम्ब मुल्यवृद्धि निर्देशिका भाग–२ ल्याउनुपर्ने उनको भनाइ छ ।  सरकारले निर्देशिका नल्याएमा ‘कन्ट्रक्सन होलिडे’मा जानुपर्ने अवस्था आउने उनको भनाई छ । व्यवसायीहरुले मुल्यवृद्धि निर्देशिका भाग–२ ल्याउन राज्यसँग माग राखेका छन् । 

‘अहिले बजारमा भएको अप्रत्यासित मुल्यवृद्धिको कारणले गर्दा अहिले निर्माण गर्ने उपयुक्त समयमा पनि हामीले निर्माण कार्यलाई अगाडि बढाउन सकेका छैनौं । मुल्यवृद्धि निर्देशिका भाग–२ जारी नगरीकन निर्माणको गतिविधि अगाडि बढाउन नसक्ने अवस्था छ,’ उनले भने । 

सरकारले अति आवश्यक कामहरु गराउनुपर्छ भने मुल्यवृद्धि निर्देशिका भाग–२ तुरुन्तै जारी गरिनुपर्ने उनले बताए । निर्माण व्यवसायीहरुले धेरैपटक प्रधानमन्त्री, अर्थमन्त्रीसहित सरोकारवाला मन्त्री र अधिकारीहरुलाई भेटेर निर्देशिका जारी गर्न आग्रह गरेको उनले बताए । 

यसभन्दा अगाडि २०६५ सालमा अत्यधिक रुपमा मुल्यवृद्धि हुँदा मुल्यवृद्धि निर्देशिका भाग –१ जारी गरिएको थियो । अब तुरुन्तै निर्माणको गतिविधि अगाडि बढाउने हो भने नेपाल सरकारले मुल्यवृद्धि निर्देशिका भाग–२ जारी गरिनुपर्ने निर्माण व्यवसायीहरुको माग छ । 

महासंघको अगुवाइमा व्यवसायीहरुले केही दिनयतादेखि देशभरी आन्दोलनको कार्यक्रम जारी राखेका छन् । बिगतमा सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि माग सुनुवाइ नभएकाले बिरोधको कार्यक्रमलाई निरन्तरता दिइने महासंघले जनाएको छ ।