धनकुटा । जिल्ला समन्वय समिति धनकुटामा नेतृत्व चयनको लागि नेकपा (एमाले) र नेपाली काङ्ग्रेसले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटामा मङ्गलबार छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका हुन् ।
नेकपा (एमाले)ले जिल्ला समन्वय समिति धनकुटाको प्रमुखमा निरेन तितुङ तामाङ र उप–प्रमुखमा सावित्रा राईलाई उम्मेदवार बनाएको छ । यस्तैगरी सदस्यहरूमा रविन्द्र न्यौपाने, कमलकुमारी लिम्बू, नेत्र भण्डारी, बालकुमारी रुचाल, सीता भण्डारी (बराल), इन्दिरा सुब्बा याक्खा र टीकाराम दर्लामी मगर रहेका छन् ।
यता नेपाली काङ्ग्रेसले जिल्ला समन्वय प्रमुखमा हर्क चेम्जोङ, उप–प्रमुखमा मञ्जु कार्कीलाई उम्मेदवार बनाएको छ । यस्तै सदस्यहरूमा कुसुम जोशी, डम्बरकुमारी अधिकारी, सरिता खत्री भण्डारी, विमला राई, सुशीलकुमार मगर, सुष्मा गुरुङ र दुर्गा दर्जी रहेका छन् ।
जिल्ला समन्वय समितिको निर्वाचन आगामी २८ गते हुने मुख्य निर्वाचन अधिकृत फडिन्द्रप्रसाद पराजुलीले जानकारी दिए । धनकुटामा रहेका ७ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष र उप–प्रमुख तथा उपाध्यक्ष गरी १४ जना मतदाता जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृत पराजुलीले बताए ।

धनकुटाका स्थानीय तह प्रमुख तथा अध्यक्षमा एमालेका ३ जना र काङ्ग्रेसका ४ जना रहेका छन् । स्थानीय तह उप–प्रमुख तथा उपाध्यक्षमा एमालेका ६ जना र माओवादी केन्द्रका १ जना रहेका छन् । यसरी हेर्दा नेकपा (एमाले)को ९ मत रहेको छ । गठबन्धनसमेत कार्यपालिका गठनको पूर्वसन्ध्यामा काङ्ग्रेस र माओवादीबीच टुटेपछि नेपाली काङ्ग्रेसले धनकुटामा जिल्ला समन्वयको लागि एकलौटी मनोनयन दर्ता गराएको हो ।
नेपाली काङ्ग्रेससँग गठबन्धन टुटेको जसपाको घोषणा
जनता समाजवादी पार्टी जिल्ला समिति धनकुटाले पत्रकार सम्मेलन गर्दै धनकुटाको हकमा नेपाली काङ्ग्रेससँग सदाको लागि गठबन्धन टुटेको जनाएको छ ।
जनता समाजवादी पार्टी जिल्ला कार्यसमिति धनकुटाले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी दिएको हो । जसपाका कार्यवाहक अध्यक्ष पार्वती राईद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला समन्वय प्रमुखको उम्मेदवारीमा गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार जीवन चावालाई दिने सहमति उल्लङ्घन गरेकाले गठबन्धन त्याग्ने घोषणा गरेका छौं ।’
गठबन्धनमा रहेको तत्कालीन ४ दलको सहमतिको मूल्य, मान्यतालाई नेपाली काङ्ग्रेसले राजनीतिक बेइमानी गर्दै एकलौटी उम्मेदवार उठाएकोप्रति पार्टीले घोर भत्र्सना गर्दै खेद प्रकट गरेको विज्ञप्तिमा उल्लेख छ ।
पत्रकार सम्मेलनमा जसपाका जिल्ला नेताहरू जीवन चावा, डम्बर कट्वाल, गोपाल लिम्बूलगायतको उपस्थिति रहेको थियो ।