भद्रपुर । स्थानीय तहको निर्वाचन २०७९ मा निर्वाचित झापाका राजवंशी जनप्रतिनिधिहरुले आफ्नो जातीय अस्तित्व जोगाउनका लागि सबै लाग्नुपर्ने वताएका छन्  अधिकार प्राप्तिका लागि राजवंशी जाति एकजुट हुनुको विकल्प नभएको राजवंशी जनप्रतिनिधिहरुले जोड दिएका हुन् ।

 जनप्रतिनिधिहरुले अब एक भएर अधिकार खोज्नुपर्ने बेला आइसकेको धारणा राखे । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद पूर्णसिंह राजवंशीले राजनीतिक अधिकार प्राप्त नगरेसम्म शासकीय अधिकार नमिल्ने भएकाले राजनीतिप्रति चासो र चेतना जगाउनुपर्ने बताए । अहिले सबै राजनीतिक दलहरुले थपनाको रुपमा मात्र राजवंशीहरुलाई स्थान दिएको उनले गुनासो गरे ।

कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले राजनीतिक अधिकार पाउनका लागि निरन्तर सङ्घर्ष गरिरहनुपर्नेमा जोड दिए । अधिकार कसैले आएर नदिने भन्दै आफ्नो अधिकारको लागि आफै लड्नु पर्ने वताए ।  गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले  सजिलै गाउँपालिका अध्यक्ष नजितेको भन्दै अधिकारका लागि गरिरहेको सङ्घर्षको कथा सुनाएकी थिइन् । उनले हरेक राजनीतिक दलमा रहेका राजवंशीहरुले पार्टीभित्रै अधिकार खोज्नुपर्ने भनाइ राखिन् । गौरादह नगरपालिकाकी उपप्रमुख जलवर्षा राजवंशीले पनि जातीय एकता र सङ्गठन निर्माणमा जोड दिइन् । 

राजवंशी विकास प्रतिष्ठानले कचनकवल ३ स्थित राजवंशी समाज विकास समितिको भवनमा जिल्लाका राजवंशी जनप्रतिनिधिहरुको बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो । राजवंशी समाज विकास समिति कचनकवलको सहकार्य र कचनकवल गाउँपालिकाको सहयोग रहेको कार्यक्रममा जिल्लाका सबै राजवंशी जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यस वर्षको स्थानीय तहको निर्वाचनमा झापामा दुईजना गाउँपालिका अध्यक्ष , एकजना उपप्रमुख , १० जना वडा अध्यक्षसहित ६४ जना राजवंशी जनप्रतिनिधिहरु निर्वाचित भएका छन् । अघिल्लो निर्वाचनमा एकजना गाउँपालिका अध्यक्ष , दुईजना उपाध्यक्ष , १२ जना वडा अध्यक्षसहित ४८ जना निर्वाचित भएका थिए ।

राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , भद्रपुर ६ का वडाध्यक्ष रतिया राजवंशी , बाह्रदशी १ का वडाध्यक्ष टेकबहादुर राजवंशी , समाजसेवी भूमि राजवंशी , जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका प्रमुख कृष्णप्रसाद राजवंशी ,राजवंशी समाज विकास समिति कचनकवलका अध्यक्ष रतन राजवंशीलगायतले बोलेका थिए ।

प्रतिष्ठानका उपाध्यक्ष रुपा राजवंशीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव इन्द्रसिंह राजवंशीले गरेका थिए । त्यस अवसरमा कालेन्द्रप्रसाद सिंह राजवंशीको अध्यक्षतामा झापा जिल्लाका राजवंशी जनप्रतिनिधिहरुको जिल्ला संजाल निर्माण गरिएको थियो । जसको उपाध्यक्षमा फूलवती राजवंशी , सचिव जलवर्षा राजवंशी , कोषाध्यक्ष सामवती राजवंशी तथा सदस्यहरुमा हंशधर राजवंशी , वीरबहादुर सिंह राजवंशी , विजयप्रसाद राजवंशी , ह्रदय राजवंशी र युवराज राजवंशी रहेका छन् ।