पाँचथर । एकै समयमा धेरै ठेक्का लिने तर, समयमै काम पूरा नगर्ने ठेकेदारको प्रवृत्तिका कारण धेरै योजना अलपत्र पर्ने गरेका छन् ।
पाँचथरको कुम्मायक र तुम्बेवा गाउँपालिका जोड्ने सावाँ सेराको पक्की पुलले ६ वर्षपछि बल्ल गति लिएको छ । तमोर कोरिडोर सडक अन्तर्गत पाँचथरको अमरपुर र सुनसरीको चतरा जोड्न निर्माण सुरु गरिएको पुलले ६ वर्षपछि गति लिएको हो ।
उत्तर–दक्षिण लोकमार्ग ताप्लेजुङले मैनाचुली वाईपिआर जेभीलाई तीन वर्षमा पुलको काम पूरा गर्न २०७४ मा ठेक्का दिएको थियो । तीन वर्षे अवधि २०७६ मा पूरा भयो तर पुल बनेन । त्यस यता तीन पटक म्याद थप भएको छ । अन्तिम पटक थपिएको म्याद असार सकिँदै छ । निर्माण कम्पनीले योजनाको काम अन्तिम चरणमा पु¥याएको छ ।
ढिलासुस्ती भएको योजनाले गति लिएपछि तराईसम्म आवत–जावत गर्न सहज हुने स्थानीय डिकध्वोज लावतीले बताए । बर्खाको समयमा खोला तर्न समस्या थियो । पैसा तिरेर झोलुङ्गे पुलबाट हिँड्नु पर्ने बाध्यता थियो तर, अब केही आशा पलाएको लावतीले बताए ।

निर्माण कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) सहित ५ करोड ९ लाख रुपैयाँको योजनाको काम अघि बढाएको थियो । पटक–पटक म्याद थप गरी योजना लम्ब्याएको निर्माण कम्पनीले साउन भित्रै काम सम्पन्न गर्ने दाबी गर्छ ।
पुल निर्माणको क्रममा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) रिपोर्ट गलत भएको र आयोजनाको कार्यालय सङ्घीय संरचनाअनुसार कहाँ रहने भन्ने टुङ्गो नहुनुजस्ता कारणले काम प्रभावित भएको निर्माण व्यवसायी दिनानाथ अधिकारीले बताए । योजनाको काम ९० प्रतिशत पूरा भएको छ । ‘अब १० प्रतिशत काम असारभित्रै पूरा गर्छौं’–अधिकारीले भने ।
पूर्वी पहाडलाई तराईको झापा, मोरङ र सुनसरीसम्म आवत–जावत गर्न वर्षाको समयमा स्थानीयले सास्ती भोग्दै आएका छन् । यता जिल्ला सदरमुकामसम्म पुग्न तुम्बेवा गाउँपालिकावासीले ठूलो समस्या भोग्दै आएका छन् । योजनाको काम समयसीमाभित्रै पूरा गराउन निर्माण कम्पनीलाई आग्रह गर्दै आएको तुम्बेवा गाउँपालिका अध्यक्ष बाबुराम खड्काले बताए ।
‘योजनाको काममा ढिलासुस्ती भएकोप्रति हामी गम्भीर भएका छौं’ उनले भने, ‘कुम्मायक र तुम्बेवा गाउँपालिकाको तर्फबाट योजनाको काम पूरा गर्न दबाव सिर्जना गर्छौं ।’ लामो समयदेखि पक्की पुलको काम अलपत्र पर्दा वर्षाको समयमा सवारी साधनले जोखिम मोल्दै आवत–जावत गर्दै आएका छन् ।