भद्रपुर । मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन्मा ठेक्का सम्झौता गरेको चारवटा खोलामध्ये ३ वटामा जेसिबी प्रयोगमा प्रतिबन्ध लगाएको छ । झापाको मेचीनगर नगरपालिकामा अनावश्यकरूपमा हुने नदी दोहन नियन्त्रणका लागि नदी दोहनमा रोक लगाइएको हो ।

सरकारले प्रत्येक वर्ष बर्खा लागेसँगै देशभरका नदीबाट असार १ गतेदेखि तीन महिनासम्म नदीजन्य सामग्रीहरू बन्द गर्दै आएको छ । तर, मेचीनगरमा नवनिर्वाचित जनप्रतिनिधि आउने बित्तिकै जेठ महिनाबाट नै निन्दा, टिमाई र हडिया खोलाको उत्खनन्मा रोक लगाएको हो ।

मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन्मा ठेक्का सम्झौता गरेको तीनवटा नदीहरू निन्दा, हडिया र टिमाई खोलामा ठेकेदारलाई जेसिबी मेसिन प्रयोग नगर्न चेतावनी दिइएको छ ।

उपप्रमुख एवम् अनुगमन समिति संयोजक मीना पोखरेल उप्रेतीले ठेकेदारसँग सम्झौता भएअनुसार मेची खोलाबाहेक निन्दा, हडिया र टिमाई खोलामा निर्माण सामग्री उत्खनन् गर्दा जेसिबी प्रयोग नगर्न आग्रह गरिएको बताइन् ।

ठेक्का सम्झौताअनुसार आईई प्रतिवेदन भएका निन्दा, हडिया र टिमाईमध्ये मेची खोलामा जेसिबी मेसिन प्रयोग गर्न बन्द नगरिएको नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख दीपेन्द्र कार्कीले जानकारी दिए ।

ठेक्काअनुसार केही दिनका लागि घर तथा अन्य सामग्री निर्माणसम्बन्धी नदी उत्खनन् गर्न ट्याक्टर प्रयोग गर्न रोक नलगाइएको उनको भनाइ छ । सरकारले देशभर असार १ गतेदेखि तीन महिनासम्म नदीजन्य पदार्थहरू उत्खनन् गर्न प्रतिबन्ध लगाउने गरेको छ । मेचीनगरमा पनि चाँडै सार्वजनिक सूचना जारी गरेर नदीजन्य पदार्थहरू उत्खनन्मा प्रतिबन्ध लगाउने तयारी गरेको उपप्रमुख उप्रेतीले बताइन् ।

मेचीनगरमा विगत वर्षहरूमा नदी उत्खनन् अत्यधिक भएको भन्दै विवादमा समेत आएको थियो । तर, मेचीनगरमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा आएको टिमले पदभार सम्हालेको केही दिनमा नै नगर क्षेत्रका नदी दोहन बन्द गरेको हो ।