धरान । लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल प्रदेश १ अधिवेशनको तयारीका लागि आयोजक कमिटी गठन गरिएको छ । अधिवेशन धरान–१५ स्थित चुम्लुङ हिम परिसरमा भदौ २४ र २५ गते हुन लागेको हो ।

महासङ्घले एक विज्ञप्ति जारी गर्दै प्रदेश अधिवेशन आयोजक कमिटी संयोजक पाँचकर्ण (पिके) राईको अध्यक्षतामा बैठक बस्दै प्रदेश अधिवेशनका लागि ३ सय १ सदस्यीय समिति गठन गरिएको छ । समितिमा घटक सङ्घमध्ये राई, शेर्पा र याक्खाबाट ७–७ जना, तोक्पेगोला, वालुङ, सिङ्सा र दनुवारबाट ५–५ जना र अन्य घटक सङ्घबाट ३–३ जना गरी ६७ जना सदस्य चयन गरिएको छ । त्यस्तै प्रदेश सचिवालय रहेका बाहेक जिल्ला कमिटीबाट ५–५ जनाका दरले ७० जना सदस्य छनोट गरिएको संयोजक पिके राईले जानकारी दिए ।

त्यस्तै विभिन्न जातिबाट ५ प्रतिशत प्रतिनिधित्व हुने गरी २३ जना, सचिवालयबाट मनोनित र जिल्लाबाट प्रतिनिधि छनोट गर्दा कम्तीमा ५१ प्रतिशत महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तै श्यामविक्रम तुम्रोकलाई सह–संयोजकमा मनोनित गर्ने निर्णय गरिएको छ । आर्थिक व्यवस्थापन गर्नका लागि सङ्गठन, र सदस्यबाट आर्थिक सङ्कलन गर्ने निर्णय गरिएको विज्ञप्तिमा जनाइएको छ । अधिवेशनलाई प्रचार–प्रसार गर्नका लागि उपसमिति गठन गरिएको छ ।

उपसमितिको संयोजकमा विणादेवी राई, सचिवमा नवराज राईसहित सदस्य रहेका छन् । त्यस्तै आयोजक कमिटीको कार्यालय व्यवस्थापनका लागि महासङ्घका उपमहासचिव देवराज राईको संयोजकत्वमा कार्यालय व्यवस्थापन उपससमितिलाई पूर्णता प्रदान गर्ने निर्णय गरिएको छ ।

अधिवेशनलाई भव्य बनाउनका लागि सांस्कृतिक तथा झाँकी व्यवस्थापन, मञ्च व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, स्वयम्सेवक परिचालन उपसमिति, आवास तथा खाद्य व्यवस्थापन समिति, उद्घाटन समारोहका लागि जनसहभागिता जुटाउनेलगायतको निर्णय भएको आयोजक कमिटीका संयोजक पिके राई र सचिव देवराज राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । महासङ्घको १ नम्बर प्रदेशमा १७ वटा विभिन्न जातिहरू आबद्ध छन् । प्रमुख अतिथि नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै शनिबार नेकपा (एमाले) पार्टी कार्यालय धरानमा भएको बैठकमा प्रदेश १ भरिका १४ जिल्लाका लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालका अध्यक्षलगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको प्रमुख अतिथि नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य एवम् महासङ्घका सह–इन्चार्ज पासाङ शेर्पा, एमालेका केन्द्रीय सदस्य राजकुमार लेखी, वरिष्ठ उपाध्यक्ष कृपासुर शेर्पा, शिव गुरुङ, उपाध्यक्ष टासी ह्योल्मो, महासचिव पेम्बा गुरुङ भोटे, उपमहासचिव टीकाराम चेम्जोङलगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै विभिन्न घटकबाट लोकतान्त्रिक किरात राई सङ्घका अध्यक्ष सर्वधन राई, लोकतान्त्रिक किरात लिम्बू सङ्घका अध्यक्ष त्रिवेणी चोङ्बाङ, लोकतान्त्रिक तोप्केगोला सङ्घका अध्यक्ष मिङ्मा कामी शेर्पा, लोकतान्त्रिक धिमाल सङ्घका अध्यक्ष नम्बरलाल धिमाल, लोकतान्त्रिक लेप्चा सङ्घका शकुन्तला लेप्चा, लोकतान्त्रिक राई दनुवार सङ्घका गणेश दनुवारलगायत सहभागी थिए ।

कार्यक्रममा प्रदेश १ का प्रत्येक जिल्लाको प्रगति प्रतिवेदन पेश गरिएको थियो । यस्तै आइतबार प्रेस चौतारी नेपाल धरान नगर कमिटीको आयोजनामा प्रचार–प्रसार उपसमितिका पदाधिकारी र प्रेस चौतारी नेपालका पदाधिकारीबीच कार्यक्रमको प्रचार–प्रसार गर्ने विषयमा छलफल भएको थियो । कार्यक्रममा एमालेका प्रदेश सदस्य किशोरकुमार कार्की, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य देवेन्द्र कार्कीलगायतले मन्तव्य राखेका थिए ।