विराटनगर ।  झापाको दमक–लखनपुर भेट्रान्स फुटबल क्लब विराटनगरमा जारी १ नं. प्रदेशस्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कपको सेमिफाइनलमा पुगेको छ ।

विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको खेलमा हाम्रो धरान भेट्रान्स क्लब सुनसरीलाई ५–२ गोलले हराउँदै दमक भेट्रान्स सेमिफाइनलमा पुगेको हो । दमकलाई जित दिलाउन सुवास आङ्थुपो सुब्बाले ह्याट्रिक गरे । त्यस्तै चन्द्रकुमार गिरी र विशाल राईले समान १–१ गोल गरेका थिए ।

दमकले सातौं मिनेटमा सुवासको गोलबाट सुरुवाती अग्रता लिएको थियो । खेलको आठौं र २३ औं  मिनेटमा सुवालले गोल गर्दै दमकको अग्रता ३–० को बनाएका थिए । २३ औं मिनेटमा धरानका डिफेन्डर सुधन केसीको पेनाल्टी एरियामा हेण्ड भएपछि दमकले पेनाल्टी पाएको थियो ।

पेनाल्टीमा सुवालले गोल गर्दा दमकको अग्रता तेब्बर भएको थियो भने खेलको ३५ औं मिनेटमा चन्द्रकुमार गिरीले गोल गरेपछि पहिलो हाफमा दमक ४–० ले अगाडि रह्यो ।

पूरा समय धरानमाथि हाबी भएको दमकले दोस्रो हाफमा थप दुई गोल गर्यो । खेलको ४८ औं मिनेटमा विशाल राईले गोल गर्दै दमकलाई जित दिलाउन सफल भए । धरानको तर्फबाट रविकुमार राईले ४२ औं र लक्ष्मी याक्खाले ६४ औं मिनेटमा १–१ गोल गरेका थिए ।

प्रतियोगिताको म्यान अफ द म्याच दमकका ह्याट्रिक गर्ने खेलाडी सुवास सुब्बा घोषित भए । उनले नगद २  हजार १ सय रुपैयाँ पाए । सोमबार दुई खेल हुने भएको छ । पहिलो खेल युनाइटेड भेट्रान्स क्लब विराटनगर र दुहबी भेट्रान्स क्लबबीच हुनेछ । सोही दिन हुने दोस्रो खेलमा बिर्तामोड भेट्रान्स र भरौल भेट्रान्सबीच प्रतिस्पर्धा हुने संयोजक मनोज खड्काले जानकारी दिए ।