धरान । धरान–१७ नमस्ते खेल मैदानमा वडास्तरीय भेट्रान रनिङ फुटबल प्रतियोगिता मंगलबारबाट सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटनमा धरान १७ निलोले जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ । धरान ८ लाई १–० गोलले हराउँदै धरान १७ निलो दोस्रो चरणमा प्रवेश गरेको हो । खेलको ४५ औं मिनेटमा धरान १७ निलोका बलराम राईले गोल गर्दै टिमलाई जिताए । खेलको म्यान अफ दी म्याच उनी नै घोषित हुँदै नगद ५ सय रुपैयाँ पाए ।
बुधबारको पहिलो खेल धरान १६ र ६ साथै दोस्रो खेल धरान १७ रातो र धरान ५ बीच हुने आयोजक धरान १७ भेट्रान फुटबल क्लबका सदस्य सतिस केसीले जानकारी दिए । प्रतियोगिताको उद्घाटन धरान हङ्कङ मञ्चका अध्यक्ष नारद राईले गरेका छन् ।
प्रतियोगितामा १३ वटा वडाका १४ टिम सहभागी क्लबका अध्यक्ष विजय राईले जानकारी दिए । प्रतियोगिता विजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी पाउने छ भने उपविजेताले नगद २० हजार रुपैयाँसहित ट्रफी पाउने आयोजकले जनाएको छ । त्यस्तै व्यक्तिगत टाइटलहरू पनि रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा १, २, ४, ७, १४ र २० नम्बर वडा सहभागी भएको छैन । प्रतियोगितामा ३६ वर्षभन्दा माथिका खेलाडीहरूलाई प्रवेश अनुमति दिइएको छ ।