• जगत अम्बु गुरुङ / हङकङ 

हङकङको नेपाली समुदायले एक वर्षअघि निधन भएका पत्रकार तथा सामाजिक अभियन्ता किसन राईको सम्झना गरेको छ ।

आईतबार हङकङका विभिन्न संघ संस्थाले संयुक्त रुपमा आयोजना गरेको ‘किसन राईको प्रथम स्मृति सभा’मा हङकङ स्थित नेपाली महावाणिज्यदुत उदयबहादुर राना तथा विभिन्न बुद्धिजिवी, लेखक र संघ संस्थाका नेताहरुले राईको योगदान बारे चर्चा गरे । उनीहरुले किसन राईको अभावमा यहाँको नेपाली समुदाय अभिभावक विहिन जस्तै बनेको बताए । राईको २०२१ अक्टोबर २४ का दिन नेपाल घुमघामका क्रममा खोटाङमा निधन भएको थियो ।

आयोजक संस्थाहरुको तर्फबाट एभरेष्ट मिडियाका प्रतिनिधि डम्बरकृष्ण श्रेष्ठको अध्यक्षता तथा हङकङ स्थित नेपाली महावाणिज्यदुत रानाको प्रमुख आतिथ्यमा भएको स्मृति सभामा बुद्धिजीवि डा.चुरा थापा, हेजेन राई, एनआरएनए हङकङकी पूर्वअध्यक्ष तथा एनआरएनएकी महिला सचिव टिका गुरुङ, लेखक जुनु राना, कमल पौडेल, धिरज राई लगायतले हङकङको नेपाली समुदायमा किसन राईले पुर्‍याएको योगदानको चर्चा गरे । 

स्मृति सभामा हङकङ नेपाली महसंघकी अध्यक्ष रीता गुरुङ, नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष लवकुमार गुरुङ, किरात राई यायोक्खा हङकङकी अध्यक्ष चन्द्रका राई, एनआरएन हङकङका महासचिव डिल्लीराम विश्वकर्मा, नेपाली पत्रकार संघ हङकङका उपाध्यक्ष ईन्द्र लक्सम, नेपाल आदिवासी जनजाती महासंघ हङकङका कृष्ण लाओती, नेपाली समाज हङकङका ईन्द्र वनेम लगायतको उपस्थिति थियो ।

दुई चरणमा आयोजीत स्मृतिसभाको प्रथम चरणमा नेपाली समाजका वनेमले कार्यक्रममा अतिथि तथा सहभागीहरुलाई स्वागत तथा धन्यवाद ज्ञापन गर्दै किसन राईको जीवनी वारे मन्तव्य व्यक्त गरेका थिए भने अन्य अतिथिहरुले पनि सम्झना र श्रद्धाञ्जली व्यक्त गरेका थिए र

कार्यक्रमको दोस्रो चरणमा पत्रकार जेवी पुन मगरले एभरेष्ट पत्रिका र किसन राई बारे मन्तव्य व्यक्त गरे भने शशिमदन राईले म्यागेजिन प्रकाशन योजना बारे बताएका थिए । त्यस्तै पत्रकार डम्बरकृष्ण श्रेष्ठले किसन राई स्मृति पुस्तक प्रकाशन बारे जानकारी गराएका थिए । पुस्तकको आवरण समेत सार्वजनिक गरिएको थियो । देवराज राईले सञ्चालन गरेको कार्यक्रमको समापन अध्यक्ष श्रेष्ठले गरेका थिए ।

स्मृतिसभाको आयोजना एभरेष्ट मिडिया, नेपाल चेम्बर अफ कमर्श हङकङ, नेपाल आदिवासी जनजाती महासंघ हङकङ, गैरआवासिय नेपाली महासंघ (एनआरएन) हङकङ, हङकङ नेपाली महासंघ, नेपाली महासंघ हङकङ, किरात राई यायोक्खा हङकङ र हङकङ नेपाली पत्रकार संघले संयुक्त रुपमा आयोजना गरेका थिए ।

तस्विरहरु: जगत अम्बु गुरुङ

IMG-8475

IMG-8477

312539433_538512568282224_5179314886417981937_n