बेलबारी । झापाको रोलिङ क्लब धुलाबारी बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा मङ्गलबार भएको उद्घाटन खेलमा विराटनगरको पेम्बा युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै झापा पाँचौं संस्करणको गोल्डकपमा क्वार्टर फाइनलमा प्रवेश गरेको हो । जितमा रेजिन सुब्बा नायक बने । उनको निर्णायक गोलको मद्दतले झापाको क्वार्टर फाइनल यात्रा तय भएको हो ।
प्रतिस्पर्धात्मक खेलको ५१ औँ मिनेटमा डिबक्सभित्र प्राप्त बललाई उनले वान टच जाली चुमाएका हुन् । रेजिनको गोलसँगै दबावमा परेको विराटनगर जवाफी गोल फर्काउन नसक्दा निराश बनेर पहिलो खेलबाटै बाहिरियो । मध्यान्तरपछि आक्रामक प्रदर्शन गरे पनि विपक्षी बार भत्काउन नसक्नु उसका लागि दुर्भाग्यपूर्ण बन्यो ।
राष्ट्रिय खेलाडीले भरिपूर्ण दुवै टिमको फिनिसिङ पक्ष भने कमजोर रह्यो । बारम्बारका अवसरमा झापा र विराटनगरका खेलाडी चुकेका थिए । अवसर खेर जाँदा विराटनगर खेलबाट बाहिरियो भने झापाले फराकिलो अन्तरको जित निकाल्न सकेन । खेलको पाँचौं मिनेटमा विराटनगरका प्रकाश बुढाथोकीको फ्रिकिक प्रहारलाई झापाका गोलरक्षक दीप कार्कीले विफल पारिदिए । २२ औँ मिनेटमा उनकै प्रहार पोष्ट माथिबाट बाहिरियो ।
४६ औँ मिनेटमा सुदील राई वान भर्सेस वानको अवस्थामा चुके । ७१ औँ मिनेटमा सुदीलकै प्रहार बाहिरिँदा विराटनगरको क्वार्टर फाइनल प्रवेश गर्ने योजना असफल बन्यो । खेलमा झापाले पनि थुप्रै अवसर गुमाउँदा फराकिलो अन्तरको जित निकाल्न सकेन । सातौँ मिनेटमा सुजल श्रेष्ठको प्रहारमा विराटनगरका गोलरक्षक विवश चौधरी बाधक बनिदिए । २७ औँ मिनेटमा झापाका एन्जल गुरुङको प्रहारले पनि पोष्टको बाटो देखेन । ३८ औँ मिनेटमा सञ्जोग राईले अवसर गुमाउँदा झापाले जितका लागि मध्यान्तरपछिको समय कुर्नु प¥यो । खेलको म्यान अफ दी म्याच झापाका गोलरक्षक दीप कार्कीले नगद ५ हजार रूपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको उद्घाटन बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले गरेका थिए । भारतको एमएमएफसी वेष्ट बङ्गाल र सिरहाको सहलेस युथ क्लबबीच आज (बुधबार) प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिता कात्तिक २५ गतेसम्म सञ्चालन हुने जनाइएको छ । आयोजकका नरेन्द्र बस्नेतका अनुसार प्रतियोगितामा नेपालका ७ र विदेशका ३ गरेर १० वटा टिम सहभागी छन् ।
विराटनगर र झापाबाहेक प्रतियोगितामा आयोजक डाँगीहाट युथ क्लब लक्ष्मीमार्ग, सहारा क्लब पोखरा, सशस्त्र प्रहरी बल काठमाडौं, सहलेस युथ क्लब सिरहा र राजारानी फुटबल क्लब धनकुटा तथा भारतको एमएमएफसी वेष्ट बङ्गाल, युनाइटेड ब्रदर्श कालिम्पोङ र क्यामरुनको एभिनीयर फुटबल क्लब सहभागी रहेको उनले बताए । यसअघिको साविक विजेता भने सशस्त्र प्रहरी बल हो ।
डाँगीहाट युथ क्लबका अध्यक्ष एवम् प्रतियोगिता संयोजक विक्रम बान्तवा राईले प्रतियोगिताको विजेता टिमले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार नगद पुरस्कार पाउने बताए । गोल्डकपको पुरस्कार राशि यसवर्षदेखि बढाइएको हो ।
यसअघिका विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद पुरस्कार पाएका थिए । राईले प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिडफिल्डरलाई १५–१५ हजार र उत्कृष्ट प्रशिक्षकलाई ३५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको बताए ।