बेलबारी । विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) काठमाडौं पाँचौं संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।
मोरङको लक्ष्मीमार्गमा जारी प्रतियोगितामा शनिबार पोखराको सहारा क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले निराश बनाउँदै एपीएफ सेमिफाइनलमा पुगेको हो । एपीएफसँग स्तब्ध हुँदै पोखरा भने प्रतियोगिताबाट बिदा भएको छ ।
टाइब्रेकरमा एपीएफका तर्फबाट सनिश श्रेष्ठ, नवीन लामा, सुदीप शिखरकार, दीपेश धिमाल र राजु नगरकोटीले गोल गरेका थिए । पोखराका दीपेश आलेमगर, सरोज योञ्जन, जय गुरुङ र अजित भण्डारीको प्रहार मात्रै गोलमा परिणत भयो । आशिष गुरुङको प्रहारमा एपीएफका गोलरक्षक राजु नगरकोटी बाधक बनिदिएपछि खेलको नतिजा पोखराको पक्षमा परेन ।
निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । नवीन लामाले खेलको २३ औँ मिनेटमा गोलको खाता खोल्दै एपीएफलाई अग्रता दिलाउँदा पोखरा दबावमा पर्यो । करिब २५ यार्ड टाढाबाट उनले गरेको फ्रिकिक प्रहारले पोष्टको बाटो तय गर्दा पोखराका गोलरक्षक टेकेन्द्र थापा अलमलमा परे । तर, एपीएफले अग्रतालाई १५ मिनेटसम्म पनि जोगाउन सकेन । एपीएफको अग्रता तोड्दै दीपेश आलेमगरले गोल गरेर पोखरालाई खेलमा फर्काए । आशिष गुरुङले ४० औँ मिनेटमा दिएको हेड पासलाई सदुपयोग गर्दै दीपेशले हेडमार्फत् नै गोल गरेका हुन् ।
खेलको पहिलो हाफ १–१ को बराबरीमा सकियो । मध्यान्तरपछि पनि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको हो । टाइब्रेकरबाट छिनोफानो हुँदा एपीएफ भाग्यमानी ठहरियो । पोखराले खेललाई आफ्नो नियन्त्रणमा राखेर उत्कृष्ट प्रदर्शन गरेको थियो । तर, नतिजा विपक्षीको पोल्टामा पर्नु उसका लागि दुर्भाग्यपूर्ण बन्यो । आकर्षक प्रदर्शन गर्दै खेललाई नियन्त्रणमा राखे पनि फिनिसिङ फितलो हुनु पोखराको हारको मुख्य कारण बन्यो ।
सन्तराम गुरुङ २७ औँ मिनेटमा वान भर्सेस वानको अवस्थामा चुक्नुले पनि पोखरालाई धक्का लाग्यो । उनको प्रहारलाई एपीएफका गोलरक्षक राजु नगरकोटीले उत्कृष्ट ढङ्गले विफल पारिदिए । नगरकोटी खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद ५ हजार पुरस्कार पाए । आज (आइतबार) भारतको युनाइटेड ब्रदर्श कालिम्पोङ र धनकुटाको राजारानी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।