बेलबारी । मोरङको लक्ष्मीमार्गमा जारी पाँचौं संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा आयोजक डाँगीहाट युथ क्लबको फाइनल यात्रा समाप्त भएको छ ।
पहिलो सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) सँग सोमबार २–१ गोल अन्तरको हार बेहोर्नु पर्दा आयोजक उपाधिनजिक पुग्न नसकेको हो । घरेलु मैदानमा आयोजकलाई रोक्दै साविक विजेता एपीएफले भने प्रतियोगिताको फाइनलमा आफूलाई सुरक्षित गरेको छ ।
फाइनल भिडन्त पक्का गरेको उसले उपाधिका लागि धनकुटाको राजारानी फुटबल क्लब र सिरहाको सहलेस युथ क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नु पर्नेछ । गोल्डकपका प्रवक्ता नरेन्द्र बस्नेतका अनुसार प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलअन्तर्गत आज (मङ्गलबार) राजारानी र सहलेसबीच प्रतिस्पर्धा हुनेछ ।
घरेलु मैदानमा आयोजकको यात्रामा बाधक बनेको एपीएफले दुवै गोल मध्यान्तरपछि मात्रै गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि मध्यान्तरपछि आकर्षक प्रदर्शन गरेको एपीएफ अन्ततः आयोजकलाई पछि पार्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भएको छ । कप्तान टोप विष्ट र नवीन लामाले गरेको गोल एपीएफलाई जितका लागि पर्याप्त बन्यो । आशिम राईले फर्काएको सान्त्वना गोल आयोजकलाई फाइनल यात्रा तय गर्न अपुग भयो ।
सङ्घर्षपूर्ण खेलको ४९ औँ मिनेटमा टोप विष्टको गोलमार्फत् एपीएफले अग्रता लिएको थियो । पोलमा ठोक्किएर रिबाउण्ड भएको बललाई उनले जाली चुमाउँदा आयोजक दबाव झेल्न बाध्य भयो । खेलको ६५ औँ मिनेटमा नवीन लामाले अर्को गोल थपेपछि एपीएफको जित सुनिश्चित भयो । सेन्टरबाट पाएको पासमा अघि बढेका उनले विपक्षी खेलाडीलाई बिट गर्दै बललाई पोष्टको दिशा दिँदा आयोजक हार स्वीकार गर्नुपर्ने बाध्यतामा पुग्यो । आयोजकका काशिम राईले खेलको ७२ औँ मिनेटमा सान्त्वना गोल फर्काएका थिए । करिब ३५ यार्ड टाढाबाट उनले गरेको प्रहारले सिधै पोष्टको बाटो तय गर्दा एपीएफका गोलरक्षक राजु नगरकोटी अलमलमा परे ।
काशिमले गरेको गोल आयोजकलाई फाइनल पुग्नका लागि महत्वपूर्ण बन्न सकेन । थप गोल गर्न नसक्दा उसले खेलमा फर्किने अवसर गुमायो । अन्ततः आयोजकको फाइनल यात्रामा पूर्णविराम लाग्यो ।
खेलको ४२ औँ मिनेटमा अग्रता लिन चुक्नु आयोजकको हारको मुख्य कारण बन्यो । मौसम लिम्बूले गरेको प्रहारलाई उत्कृष्ट ढङ्गले बचाउ गर्दै एपीएफका गोलरक्षक नगरकोटीले टिमको सङ्कट टारेका थिए । नगरकोटीबाट रिबाउण्ड भएको बलमा समेत विक्रम धिमाल असफल हुनु आयोजकका लागि दुर्भाग्यपूर्ण बन्यो । त्यसबाहेक गोल गर्ने अरू अवसरलाई सदुपयोग गर्न नसक्दा घरेलु मैदानमा नतिजा विपक्षीलाई सुम्पिन आयोजक बाध्य भयो ।
गोल गर्नका लागि पाएका केही राम्रा अवसर एपीएफले पनि खेर फाल्यो । पटक–पटकको प्रहार असफल हुनु र आयोजकका गोलरक्षक किशोर गिरी बाधक बनिदिनु एपीएफले फराकिलो अन्तरको जित निकाल्न नसक्नुको मुख्य कारण हो । पहिलो सेमिफाइनल खेलको म्यान अफ दी म्याच एपीएफका कप्तान टोप विष्ट घोषित भए । उनले पुरस्कारबापत ५ हजार रुपैयाँ प्राप्त गरे ।