धरान । चार पटकको विजेता जर्मनीलाई २–१ गोलले पराजित गर्दै जापानले कतारमा जारी फिफा विश्वकप २०२२ मा शानदार सुरुवात गरेको छ ।

खालिफा अन्तर्राष्ट्रिय रङ्गशालामा बुधबार सम्पन्न खेलमा जापानलाई जित दिलाउन रित्सु दोआन र ताकुमा आस्नोले गोल गरे भने जर्मनीका लागि इल्के गुन्डोगनले गोल गरे । खेलको ३३ औँ मिनेटमा गुन्डोगनले पेनाल्टीमार्फत् गरेको गोलमा अग्रता लिएको जर्मनीले अन्तिमसम्म त्यसलाई बचाउन सकेन ।

मैदान प्रवेश गरेको पहिलो मिनेटमै दोआनले गोल गर्दै जर्मनीविरुद्ध खेललाई १–१ को स्थितिमा ल्याएका थिए । उनी ७४ औँ मिनेटमा हिरोकी साकाईको स्थानमा मैदान प्रवेश गरेका थिए । प्रतिस्पर्धात्मक खेलको ८३ औँ मिनेटमा आस्नोले गोल गर्दै जापानको जित २–१ ले सुनिश्चित गरे ।

जितसँगै समूह ‘ई’ मा जापानले तीन अङ्क जोडेको छ । जर्मनीले १९९४ देखि सुरुवाती अग्रता लिँदै आएकोमा यसपटक भने पहिलो पटक विश्वकपको पहिलो खेलमा पराजय व्यहोरेको हो ।

क्रोएशिया र मोरक्को गोलरहित बराबरी
साविक उपविजेता क्रोएशिया विश्वकपको पहिलो खेलमा बराबरीमै रोकिएको छ । बुधबार साँझ सम्पन्न समूह ‘एफ’ को पहिलो खेलमा मोरक्कोसँग गोलरहित बराबरी खेलेको हो ।

अल बायत स्टेडियममा भएको खेलमा मोरक्को र क्रोएशियाले अङ्क बाँडेका हुन् । खेलको पहिलो हाफमा क्रोएशियालाई दबावमा राखेको मोरक्कोले दोस्रो हाफमा पनि सम्हालिएर प्रदर्शन ग¥यो ।

दोस्रो हाफमा क्रोएशियालाई केही दबाव दिएको मोरक्कोले राम्रा मुभहरू बनाएको थियो । क्रोएशियाको डिफेन्सलाई व्यस्त राखेको मोरक्कोले क्रोएशियाका स्ट्राइकरलाई खुलेर खेल्न दिएन ।

दुवै टोली सुन्दर मौका बनाए पनि फिनिसिङमा चुके । खेलको १३ औँ मिनेटमा हकिम जिएचको प्रहार असफल हुँदा मोरक्कोले अग्रता बनाउने मौका गुमायो ।

१७ औँ मिनेटमा इभान पेरिसिकको प्रहार पोष्टको माथिबाट बाहिरियो । खेलको २५ औँ मिनेटमा इन नेस्रीको प्रहारले पोष्टको गति लिन नसक्दा अग्रता बनाउने मौका गुमायो ।

पहिलो हाफको इन्जुरी समयमा क्रोएशियाका भ्लासिकले गरेको प्रहार मोरक्कोका गोलरक्षकले उत्कृष्ट बचाउ गरे । सन् २०१८ को उपविजेता क्रोएसिया यो पटक उपाधि दौडमा छ । बुधबारको बराबरीले उसको यात्रामा केही धक्का पुगेको छ । समूह ‘एफ’ मा कमजोर टोली मानिएको मोरक्कोले भने उत्कृष्ट प्रदर्शन गरेको थियो । मोरक्को यो पटक समूह चरण पार गर्दै नयाँ इतिहास बनाउन चाहन्छ ।

अष्ट्रेलिया पराजित
अष्ट्रेलियालाई ४–१ गोलले पराजित गर्दै साविक विजेता फ्रान्सले सानदार सुरुवात गरेको छ । मङ्गलबार राति अल जानोउब स्टेडियममा सम्पन्न समूह ‘डी’ को दोस्रो खेलमा फ्रान्सलाई जित दिलाउन ओलिभर जिरोउडले दुई गोल गरे भने, एड्रिन राबिओट र किलेन एम्बाप्पेले एक–एक गोल गरे ।

अष्ट्रेलियाले खेलको ९ औं मिनेटमै अग्रता लिए पनि त्यसलाई बचाइराख्न सकेन । क्राइग गुडविनले ९ औैं मिनेटमै गोल गर्दै अष्ट्रेलियालाई सुरुवाती अग्रता दिलाएका थिए ।

फ्रान्सका राबिओटले २७ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । त्यसको ४ मिनेट नबित्दै जिरोउडले गोल गर्दै फ्रान्सलाई २–१ को स्थितिमा ल्याएका थिए । पहिलो हाफमै अग्रता बनाएको फ्रान्स दोस्रो हाफमा पनि एसियन टिममाथि हावी भएको थियो । किलेन एम्बाप्पेले ६८ औं मिनेटमा गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । त्यसबीचमा अष्ट्रेलियाले गोल गर्ने केही अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न भने सकेन ।

खेलको ७१ औं मिनेटमा जिरोउडले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गर्दै फ्रान्सको जित ४–१ ले सुनिश्चित गरे । जितसँगै फ्रान्स समूह ‘डी’ मा तीन अङ्क जोड्दै शीर्षस्थानमा छ । मङ्गलबार साँझ सम्पन्न समूह ‘डी’ को पहिलो खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका थिए ।