विराटनगर । बिरामीलाई आर्थिक रूपमा भार पर्ने ‘न्युट्रास्युटीकल’ (खाद्यपूरक) सामग्रीलाई औषधि भन्दै फार्मेसीहरूले बिक्री वितरण गर्ने गरेको पाइएको छ ।

खाद्यपूरक सामग्रीलाई औषधि भन्दै बिक्री वितरण गरेको पाइएपछि औषधि व्यवस्था विभाग विराटनगरले न्युट्रास्युटीकल बरामद गरी नष्ट गर्ने अभियान सुरु गरेको हो । तीन वर्षअगाडि औषधि व्यवस्था विभागले खाद्यपूरक सामग्री चिकित्सकले सिफारिस गरिदिने र औषधि भन्दै फार्मेसीहरूबाट बिक्री वितरण गर्न थालेपछि रोक लगाएको थियो ।

विभागले खाद्यपूरक सामग्री फार्मेसीमा बिक्री वितरण गरेको पाइए बरामद गर्न थालेपछि यो केही हदसम्म नियन्त्रणमा आएको थियो । अहिले फेरि मोरङको विराटनगर, सुनसरी र झापाका ठूला अस्पतालभित्र र अगाडिका फार्मेसीहरूबाट खुलेआम खाद्यपूरक सामग्री औषधि भन्दै बिरामीलाई बिक्री वितरण गर्न थालेपछि विभागले बरामद गरी नष्ट गर्ने अभियान सुरु गरेको हो ।

अभियान सुरु गरेको सात महिनामा २९ वटा फार्मेसीले औषधि भन्दै बिक्री गर्न राखेको ठूलो परिमाणमा खाद्यपूरक सामग्री नियन्त्रणमा लिएको औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्रले जानकारी दिए ।  विभागले नियन्त्रणमा लिएको खाद्यपूरक सामग्री विराटनगरका ठूला अस्पतालभित्रबाट बरामद गरेको छ ।

नोबेल मेडिकल कलेजभित्रको सुस्वास्थ्य फार्मेसी, मेडिकेम फर्मा, विराटनगरको हस्पिटल चौकमा रहेको उज्वल फर्मा, फेसबुक फार्मेसी, शिवराम फार्मेसी,  श्रीगणेश ड्रग हाउस, विराट नर्सिङहोमभित्रको विराटनगर अस्पताल फार्मेसी, युनिक फार्मेसीबाट विभागले ठूलो परिमाणमा बिक्रीको लागि राखिएको खाद्यपू्रक सामग्री नियन्त्रणमा लिएको थियो ।

त्यस्तै विराटनगरको सप्तकोसी फार्मेसी, सीताराम फार्मेसी, झापा दमकको मन्जिता फार्मेसी, सयरा फार्मेसी, तोयानाथ फार्मेसी, जुनतारा फार्मेसी,  अतुल्यन मेडिकल, आयुव फार्मेसी, मनमोहन अस्पताल फार्मेसीबाट खाद्यपूरक सामग्री नियन्त्रणमा लिएको विभागले जनाएको छ ।

खाद्यपूरक सामग्री डिपार्टमेन्ट स्टोरमा राखेर बिक्री वितरण गरिने सामान हो । तर, यहाँ भारतमा किलोको हिसाबले जोखेर पाइने खाद्यपूरक सामग्री नेपालमा ल्याएपछि ३ सयदेखि पाँच सय रुपैयाँसम्ममा पत्ताको हिसाबले औषधि भन्दै बिक्री वितरण गर्ने गरेको पाइएको हो ।

यसरी डिपार्टमेन्ट स्टोरमा राखेर बिक्री वितरण गर्ने खाद्यपूरक सामग्रीलाई औषधि भन्दै बिक्री वितरण हुने गरेको पाइएपछि फार्मेसीहरू अनुगमन गर्दै बरामद गर्ने र नष्ट गर्ने अभियान सुरु गरिएको उनले बताए । कमिसनको चक्करमा चिकित्सकले पनि ‘न्यूट्रास्युटीकल’ सिफारिस गरिदिने गरेका छन् ।

खाद्यपूरक वा आहारपूरक सामग्रीहरूको जथाभावी प्रयोगले बिरामी, बिरामीको परिवार तथा समाजलाई आर्थिक नोक्सानी पु¥याउँछ । आर्थिक प्रलोभनमा परी चिकित्सकहरूले अत्यन्त महँगा खाद्यपूरक वा आहारपूरक सामग्रीहरूको सिफारिस गर्ने गरेकाले सर्वसाधारण मानिसहरूले त्यसको ठूलो आर्थिक बोझ चुकाउनु परेको छ ।

कतिपय बिरामीलाई चिकित्सकहरूले ६ महिनादेखि १ वर्षसम्मका लागि त्यस्ता सामग्रीहरू सिफारिस गर्ने गरेका छन् । चिकित्सकहरूले त्यस्ता सामग्रीहरू सिफारिस गर्दा फलानो पसलमा गएर किन्नू भनेर तोकेरै भन्ने र किनिसकेपछि आएर मलाई देखाउनुसमेत भन्ने गरेका छन् । यसबाट खाद्यपूरक वा आहारपूरक सामग्रीहरूको गलत प्रयोग कुन हदसम्म हुने गरेको छ भन्ने कुरा पुष्टि हुने गरेको छ ।

खाद्य तथा गुणनियन्त्रण विभागबाट अनुमति लिएर आयात गरिएका खाद्यपूरक वा आहारपूरक सामग्रीहरू औषधि पसलहरूबाट बिक्री वितरण गरेको पाइएकाले त्यस्ता सामग्रीहरू जफत गर्ने गरिएको छ ।

‘औषधि ऐन बमोजिम सञ्चालन हुने भएकाले औषधि पसलबाट त्यस्ता सामग्रीहरू बिक्री वितरण गर्नु गैर कानूनी कार्य हो’ औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख मिश्राले भने, ‘अब अझै व्यवस्थित तरिकाले विभाग यस किसिमका सामग्रीहरूको औषधि पसलबाट हुने बिक्रीलाई नियन्त्रण गर्न तत्परताका साथ लाग्नेछ । खाद्यपूरक सामग्रीहरूको प्रयोग बिरामीको उपचारका लागि गर्नु हुँदैन । सो कुरा स्वयम् त्यस्ता सामग्रीहरूका खोलमा ‘नट फर मेडिसियन युज’ भनेर लेखिएको हुन्छ ।

तर, ठूला अस्पतालहरूबाट त्यस्ता सामाग्रीहरुको सिफारिस हुने र अस्पताल अगाडी रहेका फार्मेसीबाट बिरामीहरूलाई विभिन्न किसिमका खाद्यपूरक वा आहारपूरक सामग्रीहरूको बिक्री वितरण निर्वाधरूपमा हुने गरेको छ ।’