धरान । धरान गल्फ क्लबको कोर्षमा भोलि (मङ्गलबार) देखि सूर्य नेपाल इस्टर्न ओपन गल्फ हुने भएको छ ।
५४ होलका लागि धरान गल्फ कोर्षमा देशको व्यावसायिक तथा एमेच्योर गल्फरहरूबीच प्रतिस्पर्धा हुँदै छ । आयोजक नेपाल गल्फ एसोएिसनले पत्रकार सम्मेलन गरी आइतबार जानकारी गराएको छ ।
सूर्य नेपाल प्रा.लि.को मुख्य प्रायोजनमा हुने प्रतियोगितामा यसपटक ८ लाख रुपैयाँ राशि छुट्याइएको छ । विजेताले नगद १ लाख ४० हजार रुपैयाँ, दोस्रोले नगद ९० हजार रुपैयाँ र तेस्रो हुनेले नगद ६७ हजार रुपैयाँसहित शीर्ष २१ जनाले स्कोर कार्डका आधारमा नगद पुरस्कार पाउने छन् । त्यस्तै अन्तिम दिन भने प्रो–एम कार्यक्रम हुने आयोजकले जनाएको छ ।
व्यावसायिकतर्फ नेपालमा नम्बर वान गल्फर शुक्रबहादुर राई, भूवन नगरकोटी, जयराम श्रेष्ठ, मणि राई, सञ्जय लामा र धन थापालाई प्रमुख दाबेदारका रूपमा हेरिएको छ । ३६ होलमा कट हुनेछ भने २१ जना व्यावसायिक खेलाडीहरू मात्रै ५४ औँ होलका लागि खेल्नेछन् ।
यस्तै एमेच्योरतर्फ पनि ६ जनाले मात्रै अन्तिम १८ होलका लागि प्रवेश पाउनेछन् । गतवर्षको विजेता धरानका शुक्रबहादुर राई थिए ।