धरान । नेपालका नम्बर वान घरेलु गल्फर शुक्रबहादुर राईले ३६ होलको समाप्तिमा अर्का घरेलु गल्फर निरज तामाङलाई चार स्ट्रोकले पछि पारेका छन् । 

पार ७० को धरान गल्फ क्लबको कोर्षमा पहिलो दिन एक स्ट्रोकले अघि रहेका निरज दोस्रो दिन समग्रमा चार स्ट्रोकले पछि परे । शुक्रले समग्रमा १० अन्डर १ सय ३० को सानदार स्कोर बनाए । पहिलो दिन चार अन्डर ६६ खेलेका शुक्रले दोस्रो दिन ६ अन्डर ६४ खेल्दै समग्रमा १० अन्डर १ सय ३० स्कोर गरे । बोगीरहित स्ट्रोक गरेका शुक्रले फ्रन्ट नाइनमा ४ अन्डर ३२ मा खेल सके । उनले पाँचौँ, छैटौँ, सातौँ र नवौँ होलमा बर्डी प्रहार गरे । ब्याक नाइनमा बाह्रौ र पन्ध्रौँ होलमा बर्डी गर्दा २ अन्डर ३२ खेले । ३६ होलको समाप्तिमा उनी शीर्ष स्थानमा उक्लिएका छन् । 

पहिलो दिन शीर्ष स्थानमा रहेका निरज ३६ होलको समाप्तिमा कुल ६ अन्डर १ सय ३४ खेलेका छन् । दोस्रो दिन निरजले एक अन्डर ६९ खेल्दै दोस्रोमा चित्त बुझाए । पहिलो दिन शुक्रसँग टाइ गरेका सञ्जय लामा इभन पार ७० खेल्दै समग्रमा ४ अन्डर १३६ कार्ड बनाए । उनी तेस्रो स्थान बनाउन सफल भएका छन् । सेन्ट्रल ओपन विजेता भूवन नगरकोटीले दोस्रो दिन इभन पार ७० खेल्दा कुल ३ अन्डर १ सय ३७ स्कोर बनाउँदै चौथो स्थानमा समेटिए । 

खेलमा निरजले फ्रन्ट नाइन २ अन्डर ३४ मा र ब्याक नाइन १ ओभर ३५ कार्ड बनाए । फ्रन्ट नाइनको तेस्रो, पाँचौ र सातौ होलमा बर्डी प्रहार गरेका निरजले चौथो र १३ औं होलमा एक–एक सट खेर फाले । यसै गरी सञ्जय लामाले फ्रन्ट नाइनको चौथो र सातौं होलमा बोगाी खेप्दा पाँचौ होलमा बर्डी प्रहार गर्दै १ ओभर ३७ खेले । ब्याक नाइन १ अन्डर ३३ खेल्दा १० औं, १५औं र १६औं होलमा बर्डी गरे । ११औं र १५ औं होलमा एक–एक सट गुमाउनु पुगे । 

एमेच्योर खेलाडी राजकुमार राई ३ अन्डर ६७ को स्कोर गर्दै समग्रमा २ अन्डर १ सय ३८ स्कोर बनाउँदै पाँचौँ स्थानमा रहे । दोस्रो दिन ४ अन्डर ६६ को सानदार प्रदर्शन गरेका धनबहादुर थापा समग्रमा १ अन्डर १ सय ३९ सहित छैटौ स्थानमा उक्लिएका छन् । जयराम श्रेष्ठले दोस्रो दिन १ ओभर ७१ को स्कोर कार्ड बनाउँदा कुल १ ओभर १ सय ४१ सहित सातौ स्थानमा समेटिए । यस्तै इभन पार ७० खेलेका रामे मगर कुल १ सय ४२ स्कोरसहित आठौ स्थानमा रहे ।

१ ओभर ७१ खेलेका दिनेश प्रजापति र सूर्यप्रसाद शर्मा १ सय ४३ स्कोरसहित संयुक्त रूपमा नवौँ स्थानमा रहे । एमेच्योरतर्फ राजकुमार राईले युवराज भुजेललाई ६ स्ट्रोकले पछि पारे । युवराजले दोस्रो दिन १ ओभर ७१ को स्कोर कार्ड बनाउँदै घरेलु प्रो. बलभद्र राईसँग ११ औ स्थान बाडे । बलभद्रले दोस्रो दिन २ ओभर ७२ मा खेल सकाए । 

३६ होलको समाप्तिसँगै कुल १४ ओभर १ सय ५४ स्कोर कार्ड बनाएका २१ जना व्यावसायिक र ६ जना एमेच्योर खेलाडीहरूले कट बनाए । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सूर्य नेपाल प्राइभेट लिमिटेडको प्रायोजनमा जारी ५४ होलको प्रतियोगिता हुँदै छ । यो सूर्य नेपाल गल्फ टुरको दोस्रो संस्करण हो । यहाँ कुल २९ व्यवसायिक र ११ एमेच्योर खेलाडीहरूले प्रतिस्पर्धा गर्दै छन् । कुल ८ लाख रुपैयाँ राशिको प्रतियोगितामा विजेताले नगद १ लाख ४० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै दोस्रोले नगद ९० हजार र तेस्रो हुनेले नगद ६७ हजार रुपैयाँ पाउनेछ । त्यसबाहेक स्कोर कार्डका आधारमा अन्य १८ जना व्यवसायिक गल्फरले नगद पुरस्कार पाउनेछन् ।