धरान । महान् फुटबलर पेलेको ८२ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ ।
ब्राजिलियन फरवर्ड पेलेको साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो । उनी किड्नी र प्रोस्टेटबाट पीडित रहेका थिए । उनलाई पछिल्लो समय क्यान्सरसमेत देखिएको थियो । पेले यस्ता फुटबल हुन्, जसको नाममा सर्वाधिक गोलकर्ताको कीर्तिमानी रहेको छ । उनको २१ वर्षे फुटबल करिअरमा १ हजार ३ सय ६३ खेलमा एक हजार २ सय ८१ गोल गरेका छन् । उनले आफ्नो देशका लागि ९२ खेल खेलेका थिए भने ७७ गोल गरेका थिए ।
पेलेले आफ्नो कालमा तीन पटक उपाधि जित्ने एक्ला खेलाडी हुन् । उनले लगातार दुई पटक विश्वकप जितेका थिए । सन् १९५८ र १९६२ मा लगातार दुईवटा विश्वकप आफ्नो देशका लागि जिताएका थिए । त्यसलगत्तै सन् १९७० मा पनि उनले विश्वकप दिलाएका थिए । उनको खेलको कौशल पनि अन्य खेलाडीभन्दा पृथक खालको मानिन्थ्यो । उनलाई विश्वको फुटबलको सर्वोच्च निकाय फिफाले सन् २००० मा ‘प्लेयर अफ दी सेन्चुरी’को उपाधि दिएको थियो ।
ब्राजिलले हालसम्म पाँच पटक उपाधि जितिसकेको छ । जसमध्ये तीनवटा उनको महŒवपूर्ण योगदान रहेको छ । निधनपश्चात् ब्राजिलियन फुटबल सङ्घले भनेको छ, ‘पेले अल टाइम महान् खेलाडीभन्दा पनि अझै माथि थिए र प्रेरणादायी थिए ।’ पेलेले १५ वर्षको उमेरमै आफ्नै देशको क्लब सान्टोसबाट व्यावसायिक खेल सुरु गरेका थिए । पेलेको पूरा नाम एसिसन एरेन्टस डो नासिमेन्टो हो । उनलाई कालो मोतीका रूपमा पनि चर्चा गरिन्छ । सन् १९४० मा ब्राजिलको मिनास गेराइसमा जन्मिएका उनको बुबा पनि फुटबल खेलाडी थिए । तर, उनका बुबा क्लब स्तरका खेलाडी मात्रै रहेका थिए । उनले आफ्नो व्यावसायिक फुटबल पनि सान्टोसबाटै पूरा गरेका थिए । विश्वका ठूला ठूला क्लबहरूले उनलाई अनुबन्ध गर्न निकै प्रयास गरे पनि आफ्नै देशको क्लबमा आजीवन बिताएका थिए ।
उनको निधनसँगै विश्वका अन्य खेलाडी तथा शुभचिन्तकहरूले श्रद्धाञ्जलि अर्पण गरिरहेका छन् । ब्राजिलका नेयमार, पोर्चुलका क्रिस्टियानो रोनाल्डो, स्पेनका सर्जियो रामोस, फ्रान्सका केलियन एमबाप्पेलगायतका खेलाडीले श्रद्धाञ्जलि दिएका छन् । उनीहरूले एउटा फुटबल युगको अन्त्य भएको भनी लेखेका छन् ।