अनेरास्वव्यु धरान उपमहानगरपालिका कमिटीको आयोजनामा शुक्रवार देखि सुरु हुन लागेको पहिलो धरान उपमहानगर स्तरीय अखिल फुटबल रनिङ्ग कप २०७९ को तयारी अन्तिम चरणमा पुगेको छ ।
पौष २२ गते देखि २९ गते सम्म सम्पन्न हुने मावि स्तरीय प्रतियोगितामा धरान उपमहानगरपालिका भरिका १३ वटा विद्यालयले सहभागिता जनाउँदै प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा ११ वा १२ कक्षामा अध्ययन गरिरहेका विद्यार्थीहरूले मात्र सहभागिता जनाउन पाउनेछ ।
आयोजकले बुधवार खेल तालिका तयार गरी सार्वजनिक गरेको छ । खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा धरान मेघा कलेज वि टिम र डिपो आदर्श कलेजले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताका विजेता टिमले नगद ३३ हजार रुपैयाँ, उपविजेताले नगद २२ हजार रुपैयाँ, ट्रफ्रि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
यसै गरी व्यक्तिगत विद्या तर्फ प्रतियोगिताका उत्कृष्ट खेलाडी, हाइ स्कोर, वेस्ट गोलकिपर, वेस्ट डिफेन्स, वेस्ट मिडफिल्ड र प्रत्येक खेलका म्यान अफ द म्याच खेलाडीलाई ट्रफि र प्रमाण प्रदान गरिने आयोजक अनेरास्वव्यु नगर कमिटी अध्यक्ष समिट कार्कीले जानकारी गराए ।
प्रतियोगिताको सम्पूर्ण खेल केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानको खेल मैदानमा हुनेछ । खेल मैदान सानो भएकोले ८ साइजको खेल खेलाइने आयोजक अनेरास्वव्यु नगर कमिटी सहसचिव रोहन केसीले जनाए ।