धरान/वडास्तर फुटबलमा ‘ल्यान्डमार्क’ रहेको गोधुली कपको २३ औँ संस्करण भोलि (शनिबार)देखि धरान रङ्गशालामा सुरु हुँदै छ ।
आयोजक गोधुली क्लबले बिहीबार गरेको पत्रकार सम्मेलनअनुसार धरानका २० वटै वडा सहभागी छन् । २० औँ संस्करणदेखि गोधुली कपमा धरानका सबै वडाहरू सहभागी हुँदै आएका छन् । २१ औँ संस्करणमा भने एउटा वडा सहभागी नभएको उपाध्यक्ष सतिस केसीले जानकारी दिए । धरानको फुटबललाई एउटा उचाइमा पु¥याउन गोधुली कपले योगदान दिएको छ । यो २०५० सालदेखि सुरु भएको धरानका जेठो वडास्तरीय फुटबल प्रतियोगिता हो ।
माघ १४ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन खेल धरान १३ र धरान ५ बीच हुँदै छ । धरान–१३ सत्रौँ संस्करण विजेता हो । गोधुली कपमा ‘बेन्चमार्क’ बनेको वडाहरूको खेलहरू खस्कँदै गर्दा नयाँ वडाहरूले दाबेदारी प्रस्तुत गरिरहेका छन् । पछिल्लो ६ वटा संस्करणहरूमा बेन्चमार्क वडा पराजित बन्दै नयाँ वडाहरूले उपाधि जितिरहेका छन् ।
२२ औँ संस्करण विजेता त्यसैको उदाहरण बनेको थियो । धरान–१६ ले २२ औँ संस्करण गर्दा २१ औँ संस्करण धरान १४ ले जितेको थियो । १६ औँ संस्करणसम्म धरानमा सीमित वडाले उपाधि जित्दै आएका थिए । त्यसमा धरान–१९ ले ६ पटक उपाधि जितेको थियो । १६ औँ संस्करण पनि धरान १९ ले नै जितेको थियो । धरान ८ र धरान ११ ले तीन–तीन पटक उपाधि जितेका छन् ।
१६ औँ संस्करणपश्चात् बेन्चमार्क बनाएको धरान–१७ ले १८ औँ, १९ औँ र २० औँ संस्करण उचाल्दै रनिङ कप जित्न सफल भएको थियो । यता २३ औँ संस्करणमा कुन वडा भाग्यमानी बन्ला भन्ने कौतुहलता सुरु भएको छ । तर पहिलो चरणको खेल अन्त्य भएसँगै उपाधि दाबेदारको चर्चा हुने नै छ ।
विगतझैँ यस वर्ष पनि उपाधि विजेताले नगद १ लाख ५० हजार रुपैयाँसहित ट्रफी जित्नेछ । यस्तै दोस्रो हुने टिमले नगद ७५ हजार रुपैयाँ पाउनेछ । प्रतियोगितालाई टुबोर्गले मुख्य प्रायोजन गरेको छ । सहप्रायोजकमा धरान १७ समाज हङ्कङ, धरान १७ वडा कार्यालय था सेन्ट जोसेफ इङ्लिस बोर्डिङ स्कुल रहेका छन् । प्रतियोगितामा व्यक्तिगत अवार्डहरू पनि वितरण गरिने क्लबका अध्यक्ष देशकुमार राईले बताए ।