विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट २०७९ हुने भएको छ । प्याब्सन मोरङको आयोजनामा विराटनगरमा माघ ६ देखि ८ गतेसम्म प्याब्सन स्पोर्ट्स मिट सुरू हुने भएको हो ।
विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे जानकारी गराएको छ । तीन दिनसम्म संचालन हुने प्रतियोगितामा एक दर्जन खेलहरू समावेश गरिएको प्याब्सन मोरङको अध्यक्ष शितला सुब्बाले जानकारी दिइन् । स्पोर्ट्स मिटमा फुटबल, भलिबल, टेबलटेनिस, बास्केटबल, एथलेटिक्स, म्याराथुन, सटपुट, थ्रिपल जम, हाइजम, लङजम, दौडलगायतका खेलहरू रहेको छ । फुटबल प्रतियोगिता माघ ५ गतेदेखि विराटनगर जुट मिलको खेलमैदानमा सुरू हुने प्याब्सन मोरङको कोषाध्यक्ष विष्णुं डंगोलले जानकारी दिए । अन्य खेलहरू विराटनगरस्थित सहिद मैदान, एभरेष्ट स्कुलको मैदानमा हुनेछ ।
फुटबलमा मात्र १६ वटा विद्यालयले भाग लिनेछन् । फुटबलमा कक्षा ११ र १२ का विद्यार्थी खेलाडीहरूले भाग लिनेछन् ।
स्पोर्ट्स मिटमा मोरङ जिल्लाभरीका २२० वटा प्याब्सनमा आवद्ध विद्यार्थीहरूले भाग लिनेछन् । स्कुल तहदेखि खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले प्याब्सनले स्पोर्ट्स मिट गर्दै आएको अध्यक्ष सुब्बाले बताइन् । ‘यो प्याब्सनको महाकुम्भ हो,’ उनले भिनन्, ‘प्याब्सन स्पोर्ट्स मिटमा प्रत्यक्ष रूपमा १ लाख बढीले खेलहरूको अवलोकन गर्नेछन् ।’ स्पोर्ट्स मिटको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले गर्नेछन् । प्याब्सन स्पोर्ट्स मिट सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रत्येक वर्ष हुँदै आएको प्याब्सन् स्पोर्ट्स मिट दुई वर्षपछि हुन लागेको हो । यसअघि कोभिड १९ को कारणले नियमित रुपमा प्याब्सन स्पोर्ट्स मिट हुन सकेको थिएन ।