धरान । अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग बूढासुब्बा गोल्डकपको २३ औँ संस्करणका लागि आयोजक धरान फुटबल क्लबले खेलाडी छनौटको नयाँ तरिका अपनाएको छ । बूढासुब्बा गोल्डकपका लागि सधैँ बाहिरका खेलाडीहरू समावेश गराउँदै आएको आरोप खेप्दै आएको क्लबले यसपटक नयाँ तरिकाबाट खेलाडी अनुबन्ध गर्न लागेको हो । क्लबमा अनुबन्ध गराउनका लागि २३ औँ संस्करणको गोधुली कपलाई आधार बनाइरहेको छ । धरान रङ्गशालामा हाल गोधुली कप जारी छ । माघको १४ गतेसम्म सञ्चालन हुने वडास्तरीय रनिङ गोधुली कपबाट उत्कृष्ट खेलाडीहरू छनोट गर्ने तयारी थालेको छ । त्यसका लागि क्लबले टिम व्यवस्थापनका लागि उपसमिति गठन गरेको छ ।
टिम तयारी उपसमिति गठन गरी खेलाडी अनुबन्ध गराउने जिम्मेवारी रोमी मोक्तानलाई दिएको छ । क्लबका अध्यक्ष किशोर राईले मङ्गलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्लबको तर्फबाट सहभागी खेलाडीहरूको छनौटका लागि हाल आयोजना भइरहेको गोधुली फुटबल प्रतियोगितालाई आधार बनाइएको छ । आयोजक टिम व्यवस्थापन उपसमितिले छनौट गरिएका खेलाडीहरूलाई प्रशिक्षणमा सहभागी गराई अन्तिम छनौट गरिनेछ ।’ क्लबले २३ औँ संस्करणको बूढासुब्बा गोल्डकप आउँदो फागुनको १३ गतेबाट सुरु गर्ने विज्ञप्तिमार्फत् जानकारी दिएको छ । धरान रङ्गशालामा हुने प्रतियोगिताका लागि छनौट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने अध्यक्ष राईले जनाए ।
यसपटक प्रतियोगिताको संयोजक धरान उपमहानगरपालिका रहेको छ । प्रतियोगिता आयोजना गर्न विभिन्न उपसमिति गठन गरेको जारी विज्ञप्तिमा उल्लेख छ । क्लबका अनुसार आर्थिक उपसमितिमा नवीन राईलाई संयोजकको जिम्मेवारी दिइएको छ । त्यस्तै प्रचार–प्रसार उपसमितिमा प्रताप तामाङ, मैदान व्यवस्थापन उपसमितिमा सुदीप उप्रेती रहेका छन् ।
कोरोना महामारी र आर्थिक कारण बूढासुब्बाका २ वटा संस्करण हुन सकेका छैनन् । २२ औँ संस्करणको विजेतालाई पुरस्कार दिन नसकेको भनी क्लब विवादित बनेको थियो । यो विवाद धरानमा मात्रै सीमित नभई राष्ट्रियस्तरमा पनि पुगेको थियो । यही विवाद पोखरामा सम्पन्न आहा–रारा गोल्डकपमा पनि परेको थियो । गोल्डकपमा धरानको टिमलाई खेलमा समावेश नगराउनका लागि केही क्लबले नैतिक रूपमा आयोजकलाई दबाव सिर्जना गरेका थिए । केही सञ्चारमाध्यमले यस विषयमा समाचारसमेत लेखेका थिए ।
उक्त विषयमा क्लबले भनेको छ, ‘क्लबका विरुद्धमा सामाजिक सञ्जालहरूमा केही नकारात्मक समाचारहरू आए पनि हामीले यसलाई सहजरूपमा लिएका छौँ । फुटबल खेलको विकासका लागि जुनसुकै चुनौतीको पनि सामना गर्न हामी प्रतिबद्ध छौँ ।’
के भन्छ आयोजक ?
पुरस्कार वितरण गर्न नसकेको विषयमा आयोजक धरान फुटबल क्लबले प्रतियोगिताअगावै वितरण गरिसक्ने प्रतिबद्धता जनाएको छ । पुरस्कार वितरण गर्न नसक्नुको पछाडिको कारणबारे भनेको छ, ‘कोरोना महामारीको कारण राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट प्राप्त हुने पुरस्कार रकम फ्रिज भएको तथा विगतका प्रतियोगिताहरूमा प्रदान गरिँदै आएको प्रथम पुरस्कार राशि तत्कालीन १ नम्बर प्रदेश सरकारबाट हाम्रो अथक प्रयासका बावजुद पनि प्राप्त हुन नसक्नु नै पुरस्कार राशि दिन नसकेको मुख्य कारकको रूपमा रहेको हो ।’ अगाडि भनेको छ, ‘तर, हामीले २३ औं संस्करण आयोजना मिति अगावै पुरस्कार राशि सम्बन्धित क्लबहरूलाई उपलब्ध गराउने जानकारी अखिल नेपाल फुटबल सङ्घमार्फत् नकारी गराइसकेका छौँ ।’
टिम अझै अन्यौल
करिब १ महिनाको अवधिमा हुन लागेको बूढासुब्बा गोल्डकपमा कुन कुन टिम सहभागी हुने भन्ने विषय अझै अन्यौल रहेको छ । विगतमा ‘ए डिभिजन’ का झण्डै ६ देखि ७ वटा टिमसम्म सहभागी हुने बूढासुब्बामा पछिल्लो समय ‘ए डिभिजन’ का केही टिम मात्रै सहभागी हुँदै आएका छन् । यसपटक ती टिमहरूको पनि निश्चितता छैन ।
मङ्गलबार जारी विज्ञप्तिमा अध्यक्ष राईले लेखेका छन्, ‘प्रतियोगितामा सहभागी टिमहरूका सन्दर्भमा काठमाडौँका ‘ए डिभिजन’ क्लबहरू, भारत तथा मोफसलका उत्कृष्ट क्लबहरूसँग सम्पर्क भइरहेको र हालसम्म सहभागी हुने सन्दर्भमा निर्णय भइनसकेको जानकारी गराउँदछु ।’ पुरस्कार राशि वितरण गर्न नसकेका कारणले पनि टिमहरू आउन नचाहेको यसअगि ब्लाष्टकर्मीलाई एक जानकारले बताएका थिए । तर, त्यस विषयमा आयोजक क्लबले भने नकार्दै आएको छ ।