पथरी । मोरङको कानेपोखरी गाउँपालिकाको छैटौं र कानेपोखरी अस्पताल, बयरवनको प्रथम स्थापना दिवसमा विविध कार्यक्रमको आयोजना गरिएको छ ।

शनिबार कानेपोखरीको अस्पतालमा सम्पन्न कार्यक्रममा स्वास्थ्य चौकीबाट अस्पताल हुँदा सम्म योगदान गर्नुहुने र अस्पताललाई जग्गा दान गर्नेलाई व्यक्तित्वलाई सम्मानित गरिएको हो । साबिक बयरवन स्वास्थ्य चौकीबाट कानेपोखरी अस्पतालमा स्तरोन्नति भैसकेको छ ।

उतिखेर १० कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराउनु हुने स्वर्गीय सनकसिंह भट्टराईका बुहारी तारा भट्टराई थापा र छोरा पुष्पेन्द्र भट्टराईलाई कदर–पत्रले सम्मान गरिएको छ । कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्ना र उपाध्यक्ष भोल प्रसाद अधिकारीले सम्मान पत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

त्यसैगरी कानेपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष ताराबहादुर काफले, ४ नम्बर वडाका निवर्तमान वडा अध्यक्ष धनबहादुर राई, ४ नम्बर वडाका निवर्तमान वडा सदस्य रोशन लामिछाने गुरुङलाई पनि सम्मान गर्ने कार्यक्रम रहेता पनि उनहरु कार्यक्रममा अनुपस्थित रहेका थिए ।

त्यसैगरी ४ नम्बर वडाका निवर्तमान वडा सदस्य शिवप्रसाद दुलाल, तत्कालीन वडा सचिव गीता भट्टराई राईलाई कदर–पत्रले सम्मान गरिएको थियो । त्यसैगरी उक्त अस्पतालको उत्कृष्ट कर्मचारीको रुपमा सुरक्षा गार्ड थिरबहादुर कटुवाललाई पनि सम्मान गरिएको थियो ।

कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्ना र उपाध्यक्ष भोल प्रसाद अधिकारी र वडा अध्यक्ष रमेश राउतले सम्मान पत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा अस्पतालका प्रमुख डा. अभिजितले अस्पतालको विगत र वर्तमान कार्य सम्पन्न गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए। 

गाउँपालिकाको स्थापना दिवसमा हाजिरीजवाफ प्रतिगोगिता 

कानेपोखरी गाउँपालिकाको छैटौं स्थापना दिवसमा पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरी सम्पन्न गरिएको छ । गाउँपालिकाको “मैले तिर्ने कर, गाउँपालिकाको भर“ अभियान कार्यान्वयनमा लैजाने उद्देश्यले खुला हाजिरीजवाफ प्रतियोगिता गरिएको हो । वडा नं. १ देखी ७ सम्मको २८ वटा टिममा ८४ जना विद्यार्थीले प्रतियोगितामा सहभागि जनाएको थियो । प्रतियोगितामा एसईई पास भई उच्च शिक्षा पढ्दै गरेका विद्यार्थीहरु सहभागि हुने व्यवस्था थियो ।

प्रतियोगितामा वडा नं. ७ का शशांक कोइराला, विश्वनाथ भट्टराई र आचल भट्टराई टिमले प्रतियोगिताको प्रथम भएका थिए । उनिहरले नगद ६० हजार रकम पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका थिए । त्यसैगरी वडा नं. ६ का कमल आचार्य, युवराज कार्की र सुस्मिता चौधरीको टिम दोस्रो भएका थिए । उनिहरुले नगद ४५ हजार रकम पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका थिए ।

त्यसैगरी वडा नंं ५ का मौसम पोखरेल, महिमा राजबन्शी र सर्मिला थापाका टिम तेस्रो भएका थिए । उनिहरुले नगद ३० हजार रकम पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका थिए । त्यसैगरी प्रतियोगितामा वडा नं. २ बाट रिजन फूयल, लिला सुवेदी र विवेश थापाको टिम चौथो भएका थिए । उनिहरुले सान्त्वना पुरस्कार वापत नगद १५ हजार रकम र प्रमाणपत्र प्राप्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्ना र विशिष्ट अतिथि उपाध्यक्ष भोल प्रसाद अधिकारीले प्रमाण पत्र र रकम हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अघिकृत सन्तोष घिमिरेले कार्यक्रमको औचित्य माथी प्रकाश पारेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजमती इङ्ना, विष्टि अतिथि उपाध्यक्ष भोला प्रसाद अधिकारी, अतिथिहरु वडा नं. ३ वडा अध्यक्ष गोपाल बहादुर कार्की, ६ का खड्ग बस्नेत, ५ का चरण गुरुङ र ७ का मोहन प्रसाद अधिकारी रहेका थिए ।

त्यसैगरी कार्यक्रममा नेपाली कांग्रेसबाट गाउँ सभापती योगेन्द्र दाहाल र एमाले बाट जिल्ला सदस्य नविन पौडेल अतिथिरहेका थिए । त्यसैगरी विभिन्न संघसंस्थाका प्रतिनिधि अतिथि रहेका थिए ।

कार्यक्रमको सभाध्यक्ष वडा नं. ४ का वडा अध्यक्ष तथा अस्पाताल व्यवस्थापन समितिका अध्यक्ष रमेश राउतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कानेपोखरी गाउँपालिका प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष सुशिल बुढाथोकीले कार्यक्रम संचालन गरेका थिए।