भद्रपुर । विगत केहिदिन देखि चारआलीबाट दक्षिणी भेगमा पर्ने हातेमालो र चन्द्रगढी सामुदायिक वन अन्तर्गतको जङ्गल क्षेत्रमा आगलागी  हुदै अएको छ ।

चारआली–चन्द्रगढी सडक अन्तर्गत र पूर्व – पश्चिम राजमार्गबाट करिब १ किमि दक्षिणमा डढेलो लाग्दै आएको छ  ।  डढेलोका कारण  वनबाट निस्किएको धुवाँले सडक नै ढाक्ने गरेको छ भने स्थानीयको स्वास्थ्यमा समेत धुवाँले असर गरिरहेको छ । 

वनमा निरन्तर डढेलो लागिरहेका बेला वन समितिका अग्नी दस्ता भने डढेलो नियन्त्रण गर्दै आइरहेको बताउँछन् । हातेमालो सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चन्द्रप्रसाद सिग्देल वन समितिका पदाधिकारी तथा वन हेरालुले डढेलो नियन्त्रण गर्दै आइरहेको बताउँछन् ।  

वनमा सुकेका पात पतिङ्गर अत्यन्तै धेरै भएकाले नियन्त्रणमा समस्या भइरहेको   उनले जनाए  । वन क्षेत्रमा एकातिर निभाउँदा अर्को तिर लाग्ने, त्यता निभाउँदा अर्को तिर सल्किने समस्या भइरहेको उनले बताए । वन क्षेत्रमा फैलिएको डढेलोले समस्या भइरहेको उनको भनाई छ । 

अध्यक्ष सिग्देलले हात्तीबाट बच्न अदृष्य उपभोक्ताले नै वनमा आगो लगाउने गरेको  जानकारी पाएको उनले बताए । घरअगाडी ठुलो घारी भएपछि हात्ती देखिँदैन त्यसकारण अहिले नै डढेलो लगाएर पछि हात्तीबाट बचिने भएकाले अदृष्य उपभोक्ता ले नै डढेलो लगाउने गरेको उनको अनुमान छ । भित्री वन क्षेत्रमा शिकारीले पनि डढेलो लगाउने गरेको उनको भनाई छ । अदृष्य उपभोक्ता र शिकारीले नै डढेलो लगाउने गरेको उनको भनाइ छ । डढेलो लगाउँदा वन्यजन्तुको बासस्थान मासिने, स्थानीयको स्वास्थ्यमा नै प्रतिकुल असर पर्ने भएकाले डढेलो लगाउने व्यक्तिको खोजीमा निरन्तर लागिरहेको उनले जानकारी दिए । 

हावा हुरीको समयमा वनमा डढेलो लगाउने व्यत्तिको पहिचान हुन समस्या भएको रेञ्जर कुल प्रसाद भट्टराइले बताए । व्यत्ति पहिचान भएमा कानुनी दायरामा ल्याइने उनको भनाइ छ । त्यस्ता व्यत्तिको खोजी भइरहेको उनले जानकारी दिए । केही दिन यतावाट लागेको आगो नियन्त्रणमा आएपनि पुन ः अर्को क्षेत्रमा आगो लागेको झापाका निमीत्त डिभिजन प्रमुख जीवन पाठकले वताए । चन्द्रगढी वन क्षेत्रको पुहाँतुबारी पश्चिममा आगो लाग्दै आएको उनले जानकारी दिए । त्यस्ता व्यत्तिको खोजीकार्य निरन्तर रहेको उनले बताए । 

झापामा यस आर्थिक बर्षको ८ महिनामा मात्रै १ सय ३६ आगलागीका घट्ना भएका छन् । जसमा ४ जनाको मृत्यु नै भएको छ भने १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाले उपलब्ध गराएको विवरण अनुसार गत साउनदेखि फागुन मसान्तसम्म मात्रै आगलागीबाट ९ करोड ४६ लाख भन्दा बढीको क्षति भएको छ । 

जसमा १ सय ५ आगलागीका घट्ना अचानक घटेका छन् भने ग्यास चुहावट भएर १०, विद्युत सर्ट भइ २० र चट्याङका कारण एउटा आगलागीको घट्ना भएको छ ।सुक्खा मौसम जारी रहेकाले आगलागीका घट्ना अझ बढ्न सक्ने प्रहरीले अनुमान गरेको छ ।