बिर्तामोड । अखिल नेपाल किसान महासंघ झापाले रासायनिक मलमा गरिएको मूल्य वृद्धिको विरोध गर्दै बढेको मूल्य तत्काल खारेज गर्न माग गरेको छ ।
सरकारले सोमबार मलमा दिइएको अनुदान कटौती गर्ने घोषणा गरेको थियो । अनुदान कटौतीसँगै रासायनिक मलमा मूल्य समेत वृद्धि भएको छ ।
किसान महासंघ झापाले मूल्यवृद्धिको विरोध गर्दै भारतबाट आयात भइरहेको विषादियुक्त र गुणस्तरहीन मलको आयात रोक्नुपर्ने लगायतको माग पनि गरेको छ । किसान महासंघ झापाका अध्यक्ष विमल निरौलाले मंगलबार जारी गरेको विज्ञप्तिमा किसानहरुले प्रयोग गर्दै आएको मलको प्रभावकारी अनुगमन समेत गर्न र सरकारको नीतिका कारण निराश हुँदै गएका किसानप्रति उत्तरदायी बन्न सुझाव दिइएको छ ।
बाली लगाउने बेलासम्म मलको अभाव व्यहोर्दै काम गर्नु परेको अध्यक्ष निरौलाको भनाई छ । उनले उन्नत विउको अभावका कारण बालीमा आशाजनक फलसमेत प्राप्त नभएको बताए । अध्यक्ष निरौलाले मलको कालाबजारी भइरहेको आरोपसमेत लगाएका छन् ।
किसानले उत्पादन गर्ने कृषि वस्तुहरुले सरकारले तोकेको समर्थन मूल्य समेत नपाइरहेको भन्दै उनले भारतबाट आयात भइरहेको कृषि वस्तुका कारण नेपाली बजार अस्तव्यस्त भएको बताएका छन् । किसान बनेर जीवन निर्वाह गर्न कठिनाई भइरहेको भन्दै किसान महासंघले किसानको हितमा सरकारले नीति निर्माण गर्नुपर्ने माग राखेको छ ।