बिर्तामोड । सहारा नेपालले २८ औँ स्थापना दिवसको अवसरमा संस्थाको स्थापना कालदेखि हालसम्म भएका प्रगति तथा अन्य जानकारीमूलक सन्देश भएका फोटोहरूको प्रदर्शनी राख्ने भएको छ ।

आगामी चैत २१ गते संस्थाले नगद डिपोजिट मेसिनको शुभारम्भ गर्ने संस्थाका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले जानकारी दिए । त्यस्तै, ज्येष्ठ नागरिक स्वास्थ्य हेरचाह कार्यक्रमको शुभारम्भ पनि सोही दिन गरिने उनले बताए । संस्थामा हाल ८० वटा सेवा केन्द्रमा १ लाख ६० हजार ६ सय ३४ जना शेयर सदस्यहरू छन् ।

संस्थाको शेयर पुँजी १ अर्ब ६४ करोड २३ लाख, जगेडा कोष १ अर्ब ११ करोड २१ लाख, अन्य कोष ४४ करोड ७१ लाख, बचत १० अर्ब ६६ करोड ७ लाख, लगानीमा रहिरहेको ऋण १२ अर्ब, भौतिक सम्पत्ति ५१ करोड ७० लाख र वाह्य ऋण १ अर्ब ५ करोड रहेको छ ।

२०७९ माघ मसान्तसम्मको संस्थाको वासलात १५ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । सन् २०८८ सम्ममा १ खर्बको वासलात बनाउने लक्ष्यका साथ अघि बढेको संस्थाले जनाएको छ ।

‘हाफ म्याराथुन’ दौड
स्थापना दिवसको अवसरमा ‘हाफ म्याराथुन’ दौड प्रतियोगिता पनि गरिने भएको छ । २१ दशमलव ०९ किलोमिटरको हाफ म्याराथुन हुने भएको हो । म्याराथुनमा देशभरका खेलाडी सहभागी हुन सक्ने आयोजकले जनाएको छ ।

प्रथम हुनेलाई ५१ हजार, दोस्रो र तेस्रोलाई क्रमशः ३१ र २१ हजार नगद पुरस्कारसहित ट्रफी प्रदान गरिने शनिबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यसैगरी चौथोदेखि दशौँसम्म हुने प्रतियोगीलाई जनही ५ हजार रुपैयाँ पुरस्कार दिइने आयोजक सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका बरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले जानकारी दिए । प्रतियोगितामा पुरुष र महिलाको छुट्टा–छुट्टै सहभागिता रहने खेलकुद संयोजक प्रशान्त भण्डारीले जानकारी दिए ।

सो प्रतियोगितामा बनेको रेकर्डले राष्ट्रिय मान्यता पाउने भण्डारीले जानकारी दिए । जसका लागि एथलेटिक्सका अन्तर्राष्ट्रिय निर्णायकले प्राविधिक तयारी सुरु गरेको उनले बताए । प्रतियोगितामा ५ सय बढी खेलाडीले प्रतिस्पर्धा गर्ने अपेक्षा आयोजकले लिएको छ । प्रतियोगिता सम्पन्न गर्न ७ लाख रुपैयाँको अनुमानित बजेट विनियोजन गरेको सहारा नेपालका उपाध्यक्ष छविलाल खतिवडाले बताए ।