सुनसरी । सुनसरी प्रहरीलाई वैदेशिक रोजगारको पछिल्लो अवस्थाको बारेमा जानकारी गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

वैदेशिक रोजगारीमा रहेका कामदार र कामदारका परिवारको उचित संरक्षण गर्ने उद्देश्यले सञ्चालित सुरक्षित आप्रवासन (सामी) परियोजनाले जानकारी गराएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीलाई वैदेशिक रोजगारीसम्बन्धी समस्या, ठगी र उजुरीका विषयमा जानकारी गराउँदै त्यसमा प्रहरीको भूमिका बारेमा अन्तरक्रियासहित अभिमुखीकरण गरिएको सामीका सुनसरी संयोजक धीरज भट्टराईले जानकारी दिए । सामीको कार्यक्रममा नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता रहेको छ ।

कार्यक्रममा सुरक्षा निकायमा मुद्दा चल्ने सबै इलाका प्रहरी कार्यालयका तीन दर्जनभन्दा बढी प्रहरीहरू सहभागी थिए । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, डिएसपी राजकुमार राई, इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दसरथ राई, सामी परियोजनाका प्रदेश कार्यक्रम अधिकृत देवनारायण चौधरी, सुनसरी संयोजक धीरज भट्टराईलगायतले सहजीकरण गरे । कार्यक्रममा सुनसरीको धरान र इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा सामी परियोजना सञ्चालनमा रहेको छ ।

वैदेशिक रोजगारीसम्बन्धी समस्या, ठगी र उजुरीका विषयमा नेपाल प्रहरीको भूमिका महŒवपूर्ण हुने भएकाले अभिमुखीकरण आयोजना गरेको संयोजक भट्टराईले बताए । कार्यक्रममा वैदेशिक रोजगारको अवसर, चुनौतीसहित सामी कार्यक्रमको उपलब्धि, समस्या र समाधानका प्रयासका बारे जानकारी गराइएको थियो । सोही क्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले वैदेशिक रोजगारीसम्बन्धी थुप्रै समस्या रहेको बताइन् ।

सुनसरीबाट खासगरी खाडी मुलुक जाने मानिसहरूको सङ्ख्या तुलनात्मकरूपमा बढी भएकाले उजुरी पनि बढी नै आउने गरेको बताइन् । ठगीसम्बन्धी समस्यामा छलफल गराउने, पैसा फिर्ता गराउने, मिलापत्र गराउने काम जिल्ला प्रशासन कार्यालयले गर्दै आएको स्मरण गराए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राईले वैदेशिक रोजगारीसँग सम्बन्धित समस्या र उजुरीहरूलाई प्राथमिकतामा राख्दै सुनसरी प्रहरीले काम गरिरहेको बताएका थिए ।

वैदेशिक रोजगारीमा रहेका कामदार र कामदारका परिवारको उचित संरक्षण गर्ने, गन्तव्य मुलुकमा सुरक्षित र सम्मानजनक रूपमा काम गर्न सक्ने गरी कामदारलाई सूचना, सीप, परामर्शलगायतका सहयोग प्रदान गर्ने, वैदेशिक रोजगारीमा सम्बद्ध  निकायहरूको क्षमता अभिवृद्धि गरी वैदेशिक रोजगारलाई थप व्यवस्थित र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ सुनसरीका चार स्थानीय तहसहित नेपालका ३९ जिल्लाका १ सय ५६ स्थानीय तहमा सामी कार्यक्रम सञ्चालित छ ।