विजयपुर । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा अधिकृतस्तरका कर्मचारी करारमा भर्ना गर्न नपाइने व्यवस्था गरेको छ । तर, उदयपुरको चौदण्डीगढी नगरपालिकाका प्रमुुख कालुमान लामाले ऐनविपरीत आफन्त र राजनीतिक कार्यकर्ता भर्ती गर्दै आएका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ मा स्थानीय तहले दरबन्दी प्रस्ताव गर्न पाइने र अस्थायी दरबन्दी सिर्जना गर्न नपाइने व्यवस्था गरेको छ । ऐनको दफा ८३ को उपदफा ९ मा नगरप्रहरी, सवारी चालक, सयश, कार्यालय सहयोगी, प्लम्बर, इलेक्ट्रिसियन, चौकीदार, माली, बगैंचे, सवारी चालक र सरसफाइ कर्मचारीबाहेक अन्य कर्मचारी नियुक्त गर्न नपाउने व्यवस्था छ । तर, नगरप्रमुख लामा र प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईंले नियमविपरीत कर्मचारी नियुक्त गरेको पाइएको छ । 

उनीहरूले ऐनविपरीत अधिकृत छैठौँ तहको कमचारी नियुक्त गरेका छन् । नगरप्रमुख लामाले अधिकृत छैंठौँँमा वहिपमा चेम्जोङ शेर्पालाई असारसम्मका लागि नियुक्त गरेका छन् । अधिकृत छैठाँैँ मात्रै होइन, जेटिए, भेटरिनरीका सहित १३ जना कर्मचारी नियुक्त गरेको कृषि अधिकृत इन्द्रनारायण साहले ब्लाष्टलाई फोन सम्पर्कमा बताए । स्थानीय तहमा आवश्यक कर्मचारी प्रदेश लोकसेवा आयोगमा माग गर्नुपर्ने प्रावधान छ । तर, नगरप्रमुख लामाले लोकसेवा आयोगमा कर्मचारी माग नगरी आफन्त र कार्यकर्ता भर्ती गर्दै आएका छन् । 

नगरप्रमुख लामा र अधिकृत गुरागाईंले ऐनविपरीत कर्मचारी नियुक्त गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टङ्गाल, अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी र कोशी प्रदेश लोकसेवा आयोग विराटनगरले पनि करार कर्मचारी राखेको विषयमा स्पष्टीकरण माग गरेका छन् । नगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले स्पष्टीकरण जवाफ पठाएको बताएका छन् । 

नगरप्रमुख लामाले यसअघि करारमा नियुक्त भएका कर्मचारीलाई हटाएर आफन्तलाई नियुक्त गरेका छन् । अधिकृत साहले भने, ‘ऐनविपरीत कर्मचारी नियुक्त गरिएको छ । पहिले करारमा भएकालाई निकालिएको छ भने कतिलाई ज्यालादारी बनाइएको छ ।’ यस विषयमा नगरप्रमुख लामाले ब्लाष्टसँगको फोन सम्पर्कमा घुमाउरो तरिकाले स्वीकार गरेका छन् ।  उनले भने, ‘आवश्यकताले नियुक्त गरिएको छ । सुस्त र क्षमता नभएका कर्मचारी हटाई सेवा प्रवाह चुस्त बनाउन, नगरमा सुशासन कायम गर्न नियुक्त गरिएको छ । कार्यविधिअनुसार खुल्ला प्रतिस्पर्धाबाट करारमा लिइएको छ ।’ 

नीतिविपरीत जनप्रतिनिधिले काम गर्दा पनि कानूनी अड्चनलगायतका विषयमा जानकारी गराई रोक्नुपर्नेमा चौदण्डीगढी नगरका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर गुरागाईंले पनि नियमसम्मत नै कर्मचारी नियुक्त गरेको दाबी गरे । तर, स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार निश्चित तहका कर्मचारीबाहेक करारमा भर्ना गर्न पाइँदैन । झनै अधिकृतस्तरका कर्मचारी करारमा नियुक्त गर्न नपाइने प्रावधान रहेको छ । नगरप्रमुख लामाले नगरको कृषि शाखामा कार्यरत कर्मचारी इन्द्रनारायण साहलाई हटाएर नवनियुक्त कर्मचारी वहिपमा चेम्जोङ शेर्पालाई कृषि शाखा नै जिम्मा लगाउने तयारी पनि गरेका छन् । साहले भने, ‘मलाई हटाएर भर्खर नियुक्त कर्मचारीलाई शाखा प्रमुख बनाउन लागिएको छ । १ वर्षदेखि मलाई बजेट चलाउन पनि दिइएन । रोकेको रोकेकै छ । बैठकमा नगरप्रमुखले तपाईंसँग विश्वास छैन । शाखा प्रमुख दिन्नँ भनेका छन् ।’ 

शाखा प्रमुखमा लोकसेवा आयोग उत्तीर्ण गरी लामो समय सेवा गरेका कर्मचारीलाई हटाई करारका कर्मचारी जिम्मेवारी दिने तयारी गरेका छन् । अधिकृत साहले भने, ‘उनीहरूले कानूनविपरीत गरेका काममा मैले सहयोग गरिनँ । उनीहरूले भनेका ठाउँमा सही गरिनँ, त्यसैले मलाई शाखाबाट हटाई नीतिविपरीत काम गर्न खाजेका छन् ।’ अधिकृत साहले कर्मचारी नियुक्त गर्दा छनौट समितिमा र प्रक्रियामा आफूलाई सामेल नगराई निर्णयमा हस्ताक्षर गर्न दबाव दिइरहेको तर, आफूले नमानेको बताए ।

आफूले प्रयोग गर्ने ३३३७ नम्बरको सरकारी मोटरसाइकल पनि नगरप्रमुख लामाले कार्यालय सहयोगी प्रकाश राईलाई दिएको अधिकृत साहले बताए । लोकसेवा उत्तीर्ण गरेका कर्मचारीलाई हटाई करारको कर्मचारीलाई शाखा प्रमुख बनाउने विषयमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले शाखाका अधिकृत साहको कार्य दक्षतामाथि प्रश्न उठाउँदै भने, ‘काम गर्न सक्ने कर्मचारी नियुक्त गरेको हो । लोकसेवामा पनि मागिएको छ ।’ यस्तै अधिकृत साहले आफूलाई नगरप्रमुख लामाले कार्यालय प्रवेशमा रोक लगाएको बताएका छन् । उनले भने, ‘नगरप्रहरीलाई प्रवेश गर्न नदिनू भनिरहेको छ । लिखित आदेश देखाउनुस् भन्दै प्रवेश गरिरहेको छु ।’ यता नगरप्रमुख लामाले कुनै पनि कर्मचारीलाई कार्यालय प्रवेशमा रोक नलगाएको दाबी गरे ।