विराटनगर । कोशी प्रदेश खारजी गरी तत्काल पुनः नामकरण गरिनुपर्ने माग राख्दै सभामुख बाबुराम गौतमलाई ज्ञापन पत्र बुझाएका छन् ।
कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले आइतबार अल्टिमेटमको रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरुले पुनः नामकरण नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । पहिचानसहितको पुनः नामकरण तत्काल नगरिए जीवनमरणको आन्दोलनमा उत्रिने र त्यसको सम्पूर्ण जिम्मेवारी कोशी प्रदेशको पक्षमा मतदान गर्ने सांसद, सभामुख, मुख्यमन्त्री र एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपाले लिनुपर्ने पत्रमा उल्लेख छ ।
प्रदेश स्थापनाको ५ वर्षपछि ९३ सदस्यीय प्रदेशसभाबाट ८२ सांसदको समर्थनमा फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरिएको थियो । तर त्यसयता पहिचानवादी संगठनहरूले निरन्तर आन्दोलन गर्दै आएका छन् । कोशी नामकरणप्रति आपत्ति जनाउँदै गरिएका प्रदर्शनको क्रममा एक जनाको मृत्यु हुनुका साथै दर्जनौं मानिस घाइते भएका छन् ।