विराटनगर । चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब पुगेका छन् । 

विराटनगरको सहिद रंगशालामा आइतबार  भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले मधेस प्रदेशलाई १२–० को फराकिलो गोल संख्यामा पराजित गर्दै फाइनलमा पुगेको हो । सोही दिन भएको नेपाल पुलिस क्लब र सुदूपश्चिम प्रदेशबीच हुने खेलको विजेतासँग सोमबार राति उपाधि जितका लागि आर्मीले खेल्ने छ । 

आर्मीका रोमन रानाले ४ गोल, काशीराज राईले ३ गोल, अमरबहादुर गुरुङ, गणेश टमाटा, नितिश न्यौपाने, प्रदीप राजवंशी र राजुबाबु थापा मगरले समान १–१ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच आर्मीका रंजित राउत भए । प्रतियोगिताको तेस्रो स्थान र फाइनल खेल सोमबार हुनेछ । 

प्रतियोगितामा नेपाल आर्मी, नेपाल पुसिल, कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ४१ हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।