विजयपुर । धरान उपमहानगर प्रमुख हर्कराज राई (साम्पाङ) ले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार वडाध्यक्ष र कार्यपालिका सदस्यहरूको काम, कर्तव्य अधिकार सम्झाउँदै राजीनामा मागेका छन् ।
नगरप्रमुख राईले बिहीबार नगरको लेटरप्याड प्रयोग गरी ऐनको धारा १६ को उपधारा ४ (क) को ६ मा प्राप्त कार्यपालिकाको कामलाई रेखदेख, निर्देशन र नियन्त्रण गर्ने अधिकार प्रयोग गरेर राजीनामा मागेका हुन् । राजीनामा मागेपछि भने वडाध्यक्षहरूले पनि पत्रकार सम्मेलन गर्दै नगरप्रमुखको कार्यशैलीको विरोध जनाएका छन् । वरिष्ठ अधिवक्ता सुमनचन्द्र कार्कीका अनुसार नगरप्रमुख राईले निर्वाचित जनप्रतिनिधिको राजीनामा माग्न पाउने कुनै कानूनी अधिकार र अभ्यास छैन । उनले भने, ‘बालिग मताधिकार प्राप्त मतबाट निर्वाचित भएको जनप्रतिनिधिलाई राजीनामा माग्ने अधिकार छैन ।’
वरिष्ठ अधिवक्ता कार्कीले कार्यपालिका बैठकको विवादलाई लिएर राजीनामा माग्नुपर्ने विषय नभएको बताए । उनले भने, ‘फौजदारी अभियोग लागेको हकमा १५ दिनसम्म कार्यालयमा उपस्थित नभए मात्रै जनप्रतिनिधिको पद रहन्न ।’ उनले थपे, ‘नेपालको वर्तमान कानूनमा कुनै पनि सरकार जनप्रतिनिधिलाई राजीनामा (रिजाइन), प्रत्याह्वान (रिकल) गर्ने व्यवस्था छैन ।’ नगरप्रमुख राईले ‘संविधानको धारा २७ मा सूचना पाउने नागरिकको मौलिक हक भएकाले वडाहरूमा के कस्ता, के कति काम भएका छन् तुरुन्तै सार्वजनिक गर्न निर्देशन दिन्छुु’ भन्दै विज्ञप्तिमा लेखेका छन् । उनले वडाध्यक्षलाई स्पष्टीकरण सोधेको विषयमा कार्यपालिका बैठक सञ्चालन कार्यविधि २०७४ को धारा १४ को उपधारा १ को बैठकलाई सुव्यवस्थित गर्ने अधिकार प्रयोग गरेको हुँ’ भनेका छन् । विज्ञप्तिमा ‘कसैले म बैठक बस्दिनँ भन्न पाइँदैन, त्यसैले कर्तव्य पूरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर मार्ग प्रशस्त गरी आम धरानबासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ ।’
बिहीबार वडाध्यक्षहरूले पनि पत्रकारसँग भेटघाट गर्दै नगरप्रमुख राईको व्यवहारप्रति आक्रोस पोखेका छन् । धरान–१७ का अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) ले भने, ‘कोठाभित्र गल्ती भयो भनी स्वीकार गर्ने अनि सार्वजनिक रूपमा माफी नमाग्ने ? तीन जना अध्यक्षसँग अनौपचारिक रूपमा बस्दा कर्मचारीले गर्दा गल्ती भयो, तपाईं हामी मिल्नुपर्छ भन्नुभयो । यो बैठक पनि लाइभ गरौँ भनेर मोबाइल झिक्दा भो भो भन्नुभयो ।’ नगरप्रमुख राईले जारी गरेको विज्ञप्तिमा पटक–पटक कार्यपालिका बैठक बहिष्कार गरेर जनादेशको अपमान गर्दै जनताको सुशासन र विकास पाउनु पर्ने अधिकारमाथि खेलवाड गरेको उल्लेख गरेका छन् । नगरप्रमुखले कानूनविपरीत वडाध्यक्षहरूको राजीनामा माग गरेको धरान–१५ का अध्यक्ष नरेश इवारमले बताए । उनले भने, ‘हामीले पनि स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार मात्र प्रयोग गरेका छौँ । मेयरले पनि आफ्नो क्षेत्राधिकारभित्र रहेरमात्र काम गर्न अनुरोध गर्छु ।’
धरान–१७ का अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) ले धरानमा खानेपानी समस्या भए पनि अहिले बोल्न नमिल्ने बताए । उनले भने, ‘वास्तविकतामा पानी आएको छैन । फेसबुकमा आएको पानी कहाँ छ ? धरानमा १० दिनदेखि पानी आएको छैन । तर, पानी आएन भन्ने अवस्था छैन । पानी आएन भन्यो भने पाइप तान्न आइज भन्नुहुन्छ ।’ उनले एसियाली विकास बैङ्क (एडीबी) को ऋण अनुदानमा सञ्चालित खानेपानी आयोजनामा भ्रष्टाचार गर्नेलाई कारबाही नगरेकाले पनि नगरप्रमुखको नियतमाथि शङ्का रहेको बताए । धरान–६ का अध्यक्ष भूपेन्द्र भट्टराई नगरप्रमुखले काम गर्न नदिएको आरोप लगाए । उनले भने, ‘तेरो वडामा के काम गरेको छ भनेर अशिष्ट शैलीमा सोध्नुहुन्छ ।’
धरान–१८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रवीण) ले आफूलाई कार्यपालिका बैठक बस्नुअघि एक–दुईपटक अनौपचारिक छलफलको क्रममा नगरप्रमुखले ‘मान्छेबाट कमी कमजोरी हुन्छ’ भन्दै प्रतिक्रिया दिएको बताए । उनले भने, ‘कार्यपालिका बैठक हुनुभन्दा दुई दिनअघि ग्रिन टिमा बसेर कार्यपालिका बैठक बोलाउँछु । मान्छेबाट कमी कमजोरी हुन्छ । मबाट पनि भयो भन्नुभयो । बाहिर निस्कने बित्तिकै के के लेख्छ ।’ उनले बुधबार फेसबुकमा अपलोड गरेको गीतमार्फत् वडाध्यक्षलाई ‘गुइँठे’ भनी अपमान गर्न खोजेको भन्दै आपत्ति जनाए । धरान–४ का अध्यक्ष धनबहादुर राईले राम्रो कामको समर्थन र गलत कामको विरोध गर्नुपर्ने बताए ।
वडाध्यक्ष र नगरप्रमुखबीचको विवादको चुरो भने फागुन २९ गते स्वकीय सचिव सुदर्शन लिम्बूले गरेको पत्राचारबाट सुरु भएको हो । गत चैत १ गते बसेको कार्यपालिका बैठकमा वडाध्यक्षहरूले सोही पत्राचारको विषय उठाउँदै नगरप्रमुखले माफी माग्नुपर्ने वा लिम्बूलाई हटाउनु पर्ने अडान लिएका थिए । सोही कार्यपालिका बैठकमा धरान–१० का वडाध्यक्ष विवेक राईले फरक मत राखेकै आधारमा नगरप्रमुख राईले स्पष्टीकरण सोधेका थिए । वडाध्यक्षहरूले कानून विपरीत झुटो आरोप लगाई वडाध्यक्षलाई सोधिएको स्पष्टीकरण उपर नगरप्रुमख राईले सार्वजनिकरूपमा आत्मलोचना गरी माफी माग्नुपर्ने, सङ्घ तथा प्रदेशबाट आउने योजनाको सिफारिस रोक्का गरी धरानको विकासमा अवरोध सिर्जना गरेको हुँदा तुरुन्त सङ्घ तथा प्रदेशसँग योजना मागको सिफारिस गर्न माग राखेका छन् ।
यस्तै स्वकीय सचिव लिम्बूमार्फत् वडाध्यक्षहरूलाई निर्देशनात्मक पत्राचार गर्न लगाई आफ्नो पदको दुरुपयोग गरेकोमा आत्मालोचनासहित भूल सुधार गर्नुपर्ने, लेटरप्याड, आफ्नो पद र अधिकारको दुरुपयोग गर्ने स्वकीय सचिव सुदर्शन लिम्बूलाई कारबाही गर्नुपर्ने माग गरेका थिए । वडाध्यक्षहरूले नगरप्रमुख राईले स्थगित गरेको कार्यपालिका बैठक तुरुन्त बोलाउन पनि माग गरेका छन् ।