विजयपुर । धरानको विकासका निम्ति आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन गर्न माग गर्दै ६ राजनीतिक दलका स्थानीय नेतासहित धरानका वडाध्यक्षहरू सङ्घीय राजधानी काठमाडौँ प्रस्थान गरेका छन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा धरानका योजनाहरूलाई प्राथमिकता दिई बजेटको व्यवस्थापन गर्ने उद्देश्यले जनप्रतिनिधि र दलका प्रतिनिधिको समूह काठमाडौँ गएको हो । समूहले विभिन्न विभागीय मन्त्री तथा प्रधानमन्त्रीसँग भेटघाट गरी बजेट माग गर्ने नेपाली काङ्ग्रेसका नगर सभापति श्याम पोखरेलले जानकारी दिए । आइतबार धरान–१७ रेल्वेमा पत्रकार भेटघाट गर्दै आर्थिक वर्ष २०८०/०८१ मा धरानसहित सुनसरी क्षेत्र नं.१ को विकासका ३० योजना लिएर राजधानी हिँडेको उनले जानकारी दिए । टोलीमा काङ्ग्रेससहित नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका स्थानीय नेतासहित वडाध्यक्षहरू छन् ।

काङ्ग्रेसका सभापति पोखरेलले  समूहले प्रधानमन्त्री, विभागीय मन्त्रीहरूसँग भेटघाट गरी धरानलाई बजेट पारिदिन माग गर्ने जनाए । समूहमा नेकपा (एमाले) का अध्यक्ष हर्कजङ एभेङ, नारायण सुवेदी, मीन सुब्बा, काङ्ग्रेसबाट सभापति पोखरेल, माधव घिसिङ, माओवादी केन्द्रबाट फोक्वाहाङ सुब्बा (चोत्लुङ), जसपाका ताजुव लिम्बूलगायत रहेका छन् ।

यस्तै, वडाध्यक्षमा धरान–१७ का अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज), धरान–१६ का अध्यक्ष मुरारी भट्टराई, वडा २० का अध्यक्ष पदम लिम्बू, वडा ९ का अध्यक्ष रूपेश आचार्यलगायत छन् । समूहले धरानको खानेपानी समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन योजना अगाडि सारेको छ । अल्पकालीनमा तत्काल १० वटा डिप बोरिङ गर्नुपर्ने र दीर्घकालीनमा धरान–लेउती सुरुङ मार्गमै खानेपानी आयोजना ल्याउनुपर्ने माग गरिएको छ । जसका लागि ५ अर्ब बजेट विनियोजन गर्न माग गरिएको छ ।

यस्तै धरान रङ्गशालामा रङ्गशालामा फ्लड लाइट, प्यारापिट, बहुउद्देश्यीय कवर्ड हल, भक्तराज कन्दङ्वा क्रिकेट रङ्गशाला, धरान र वराहक्षेत्रका लागि सञ्चार ग्राम निर्माण, पिण्डेश्वर क्याम्पसलाई बहुभाषिक विद्यालय कलेजमा विकास गर्न, कोसी नदी वराहक्षेत्र, चतरा क्षेत्रमा तटबन्ध निर्माणका लागि बजेट माग गरिने उनीहरूले बताए ।

यस्तै धरान सहर क्षेत्रको विद्युत्को तार भूमिगत गर्ने, धरान–धनकुटा ३३ केभी प्रसारण एलाइन्मेन्ट परिवर्तन गर्न माग गरिने भएको छ । सर्दु र सेउती र सुनसरी खोला तटबन्ध, धरान–५ र १७ मा प्रादेशिक प्रदर्शनी केन्द्र स्थापना गर्ने, अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी केन्द्र निर्माण, बीपी पार्कको गुरुयोजना बमोजिम निर्माण, मदन भण्डारी लोक मार्गको एलाइन्मेन्ट परिवर्तन गर्न माग गरिनेछ । धरान–६ को औद्योगिक ग्राममा पूर्वाधार निर्माण, नाटक घर निर्माण, सप्तरङ्गी पार्क पूर्वाधार विकास, ऐतिहासिक पुराताŒिवक तथा मन्दिर क्षेत्रको संरक्षण तथा विकास, बहुजातीय सङ्ग्रहालय निर्माण, दलित सङ्ग्रहालय, अमाह सिमसार, रास ताल पर्यटन, भरौला वराहक्षेत्र, विजयपुर दरबार क्षेत्र संरक्षण निर्माणका लागि बजेट माग गर्ने जनाइएको छ ।

धरान मङ्गलबारे–विष्णुपादुका–आहाले धनकुटा–तमोर कोरिडोरसम्म सडक निर्माण, धरान हरियाली इचोल सडक, तरहरा– कुमारखद –पाञ्चायन–तीनकुने सडक निर्माण, लेउती तमोर सुरुङ मार्ग खानेपानी आयोजना, खैरेनी– ठिङ्गाबारी–हर्दिया सडक, मिलन चोक–सूर्यकुण्ड वर डाँडा सडक, धरान चतरा, त्रिवेणी, टक्सार, भोजपुर सडक, धरान विमानस्थलको जग्गा व्यवस्थापन गर्न माग गरिने जनाइएको छ ।

बीपी प्रतिष्ठानका शिक्षक, कर्मचारीको वृत्ति विकास तथा एमआरआई मेसिन खरिद, कार्डियोलोजी र अङ्कोलोजी सेन्टर स्थापना, आइसियु र डायलाइसिस सेवा विस्तारको माग गरिने जनाइएको छ । ट्राफिक प्रहरी कार्यालय, वडा प्रहरी कार्यालयको भवनका लागि जग्गाको कामलगायत माग गरिने जनाइको छ । काङ्ग्रेस नगरसभापति श्याम पोखरेलले सबै परियोजनाका लागि बजेट नपरे पनि पाइप लाइनमा बस्ने बताए ।