धरान । धरानको गोर्खा बचत तथा ऋण सहकारी संस्थाले २३ औँ वर्ष प्रवेशको अवसरमा निःशुल्क आँखा जाँच शिविर आयोजना गरेको छ ।
शनिबार सैनिक भवनमा आयोजित शिविरमा १ सय ७० जनाले सेवा लिएको अध्यक्ष मानबहादुर राईले जानकारी दिए । उनका अनुसार धरानको मञ्जुश्री पोलिक्लिनिकको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो । शिविरमा आँखा जाँच गरिएकामध्ये झण्डै सयभन्दा बढीमा आँखाको विभिन्न समस्या देखिएको उनले जानकारी दिए । शिविरपूर्व अध्यक्ष राईले संस्थाको स्थापना, हालसम्मको आय–व्यय, संस्थाको प्रगतिबारे जानकारी गराएका थिए ।
सहकारीले २३ औँ वर्ष प्रवेशको अवसरमा केक काटेर कार्यक्रम उद्घाटन गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि संस्थाका संस्थापक सदस्यमध्येका एक रमेश राईले केक काटेर शिविरको उद्घाटन गरे । शिविरमा संस्थाका शेयर सदस्य तथा संस्थाभन्दा बाहिरका नागरिकले पनि सेवा लिएका थिए । पछिल्लो समय मोबाइल लगायतका प्रविधिका कारण पनि आँखाको ज्योतिमा दबाव पर्दै गएकाले आँखाको समस्या हुँदै आएको शिविरमा संलग्न चिकित्सकहरूले बताए ।
शिविरमा निःशुल्क रूपमा आँखाको औषधि पनि वितरण गरिएको थियो । आँखामा समस्या हुनेहरूलाई मञ्जुश्री पोलिक्लिनिकमा बोलाइएको उनले जानकारी दिए । गोर्खा सहकारी सहकारी ऐनअनुसार २०५८ वैशाख ३० गते स्थापना भएको थियो । २२ जना शेयर सदस्यबाट स्थापित संस्था धरानको अब्बल सहकारीमध्ये एक रहेको प्रमुख अतिथि संस्थापक सदस्य रमेश राईले बताए ।