बिर्तामोड । बिर्तामोड नगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा जेठ ६ गतेदेखि ‘प्रथम कर्पाेरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता’ आयोजना हुने भएको छ ।

डोमालाल राजवंशी खेलमैदानमा हुने प्रतियोगितामा सहभागी हुन हालसम्म १७ वटा टिमले नाम दर्ता गराइसकेको नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले जानकारी दिए ।

टिम दर्ता गर्ने समय अझै बाँकी रहेकाले टिमको सङ्ख्या अझ बढ्न सक्ने उनले बताए । प्रतियोगिताको विजेता टिमलाई १ लाख, दोस्रोलाई ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने आयोजक समितिले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

यसैगरी खेलको म्यान अफ द टुर्नामेन्टलाई १० हजार रुपैयाँ, बेस्ट ब्याट्स म्यान र बेस्ट बलरलाई जनही ५ हजार १ सय, प्रत्येक खेलको म्यान अफ द म्याचलाई २ हजार एक सय रुपैयाँ पुरस्कार दिने आयोजकले जनाएको छ । प्रतियोगितामा हिट बोर्डको व्यवस्था गरी विभिन्न आकर्षक पुरस्कार प्रदान गर्ने तयारी रहेको कार्यक्रम संयोजक विशाल अग्रवालले जानकारी दिए ।

आयोजकले प्रतियोगिताको फाइनल खेल राति सम्पन्न गर्ने तयारी गरेको छ । जसका लागि फ्लड लाइट जडान गरिने बताइएको छ । प्रतियोगितामा बिर्तामोड घर भएका राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक प्रवेश कटुवाल, राष्ट्रिय फुटबल टिमका खेलाडी निशान खड्का र अभिषेक बराललाई सम्मान गरिने भएको छ ।

जेठ ७ गते समापन हुने प्रतियोगितामा कुटुम्ब ब्याण्डको प्रस्तुति रहनेछ । प्रतियोगितालाई बिर्तामोडको ग्रान्ड प्यासिफिक होटल, गरिमा मल्टिपर्पोज र ओम कास्टिङ उद्योगले प्रायोजन गरेको अग्रवालले जानकारी दिए ।