विराटनगर । कोशी प्रदेश सरकारले हाफ म्याराथन प्रतियोगिता गर्ने भएको छ । 

खेलकुद पर्यटन प्रवद्र्धन, विराट– बर्जु हाफ म्याराथन’  मूल नाराको साथ मोरङको भेडियारीस्थित विराटराजाको दरबारदेखि सुनसरीको बर्जु तालसम्म  हाफ म्याराथन प्रतियोगिता गर्ने भएको हो ।

कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा विराटनगरको विराट राजाको दरबार क्षेत्रदेखि बर्जु तालसम्म म्याराथन दौड हुनलागेको सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । ५ किलोमिटर महिला र पुरूष तर्फ हाफ म्याराथन दौड प्रतियोगिता हुने छ । यही जेठ ६ गते प्रतियोगिता अन्तर्गत हाफ म्याराथन २३ किलोमिटर दौड हुने पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव डा. सञ्जीवकुमार राईका अनुसार महिलातर्फ ५ किलोमिटर दौड र हाफ म्याराथन दौड विराटनगर महानगरपालिका वडानम्बर १८ भेडियारीदेखि बर्जु गाउँपालिकाको बर्जु पोखरीसम्म हुनेछ । प्रतियोगितामा १ सयजनाको सहभागिता रहने जानकारी दिइएको छ ।

जेठ ४ गतेसम्म नाम दर्ताको समय दिइएको प्रतियोगितामा महिला र पुरुषको लागि फरक–फरक पुरस्कारको व्यवस्था गरिएको छ । १० लाख लागत खर्चको अनुमान गरिएको प्रतियोगितामा हाफ म्याराथनमा प्रथम हुनेलाई १ लाख, द्वितीय हुनेलाई ७५ हजार, तृतीय हुनेलाई ५० हजार तथा सान्त्वना पुरस्कार ३ जनालाई १५ हजारको दरले उपलब्ध गराइने सचिव राईले बताए । महिलातर्फ ५ किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २५ हजार, २० हजार र १५ हजारले पुरस्कृत गरिने जानकारी दिइएको छ ।