विजयपुर । टियु बीबीए कप फुटबल प्रतियोगितामा आयोजक टिम महेन्द्र बहुमुखी क्याम्पस पराजित भएपछि प्रतिस्पर्धी टिमको खेलाडीमाथि आक्रमण गरेको छ ।
महेन्द्र बहुमुखी क्याम्पस धरानले आयोजना गरेको पन्ध्रौँ बीबीए कपमा आयोजक पराजित भएपछि प्रतिस्पर्धी टिम पृथ्वीनारायण बहुमुखी क्याम्पस पोखराका खेलाडीमाथि आक्रमण भएको हो । मङ्गलबारको दोस्रो क्वार्टरफाइनल खेलमा आयोजक पृथ्वीनारायण क्याम्पससँग पेनाल्टीमा पराजित भएको थियो । महेन्द्र बहुमुखी क्याम्पस प्रमुख दामोदर भण्डारीले घम्साघम्सी खेलमा पराजित भएपछि हातपात गरेको बताए । पोखराका खेलाडीले खेलमा धरानका प्रशिक्षकलाई गाली गरेको भन्दै खेल सकिएपछि आक्रमण गरेको बताइएको छ । उनका अनुसार खेलाडी सरोज श्रेष्ठ र प्रज्वल पौडेल
सामान्य घाइते भएका छन् ।
उनले भने, ‘आज खेल्न सक्दैनौँ भनेका छन् । उनीहरूको बाहेक अन्य खेल हुन्छन् ।’ महेन्द्रका स्वतन्त्र विद्यार्थी युनियन सभापति युवराज राई ‘रसिक’ ले दुई पक्षीय सम्झौताबाट विवाद समाधान गरेको बताए । उनले ‘सहमतिपश्चात् सौहाद्र्रपूर्ण वातावरण भयो ।’ उनका अनुसार घाइते खेलाडीलाई अस्पतालमा उपचारपछि घर ल्याइएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाहीको माग गरेको छ । घटनाले क्याम्पस, स्ववियु र सिङ्गो धरानको गरिमामाथि आँच पुगेको जनाएको छ ।
अखिलका महेन्द्र बहुमुखी क्याम्पस अध्यक्ष शेखर रेग्मीले दोषीलाई कारबाहीको माग गरेका छन् । उनले घटनामा संलग्न स्ववियुका जिम्मेवार व्यक्तिहरूलाई छानबिन गरी कानूनअनुसार कारबाही गर्न माग गरेका छन् । घटनाको छानबिन गरी कारबाही नगरेसम्म बाँकी खेलहरू सञ्चालन नगर्न र स्ववियुलाई संलग्न नगर्न पनि माग गरेको छ ।