बिर्तामोड । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आसन्न निर्वाचनका लागि नेपाली कांग्रेस र राप्रपाले आफ्नो प्यानलको उम्मेदवार सार्वजनिक गरेका छन् ।
सो समुहले खानेपानीका बर्तमान सचिव मेघराज बाँस्तोलाको नेतृत्वमा उम्मेदवार खडा गरेका हुन् । आगामी जेठ १५ गते बिर्तामोड साना सहरी खानेपानी तथा सर सफाई उपभोक्ता संस्थाको निर्वाचन हुँदैछ ।
समूहका तर्फबाट उपाध्यक्षमा शैलेन्द्र सिटौला, सचिवमा पारश मैनाली र कोषाध्यक्षमा शारदा रिजाल उम्मेदवार रहेका छन् । त्यस्तै सदस्यमा आनन्द गुरुङ, वालादेवी खरेल, माया प्रधान खड्गी र कमला अग्रवाल रहेका छन् ।
नेपाली कांग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा उम्मेद्वारको घोषणा नेपाली कांग्रेस झापाका कोषाध्यक्ष तथा खानेपानीका बर्तमान अध्यक्ष जलकुमार गुरुङले गरेका थिए । राप्रपाका नेता शंकर रिजालले स्वागत गरेको कार्यक्रममा संविधान सभा सदस्य सुधीर कुमार शिवाकोटी, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेले, राप्रपाका जिल्ला अध्यक्ष केशव ओझाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले गरेका थिए ।
निर्वाचनका लागि स्वतन्त्र–प्रगतिशील प्यानलले बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्षमा देवेन्द्र सिटौला, उपाध्यक्षमा प्रदिप खरेल, सचिव विष्णुप्रसाद चुडाल, कोषाध्यक्षमा विनिता राजवंशीले उम्मेद्वारकाे घाेषणा गरेकाे छ । त्यस्तै खुला सदस्यमा छत्रबहादुर श्रेष्ठ र रमेश उप्रेती, महिला सदस्यमा तारा राई, पुनम अधिकारी र सीमा सिलवाल ढुंगानाले उम्मेद्वारी घोषणा गरेका हुन् ।
स्वतन्त्र प्रगतिशील प्यानल निर्वाचन परिचालन तथा प्रचार समितिका संयोजक देबराज कार्कीको अध्यक्षतामा भएको उम्मेद्वारी घोषणा कार्यक्रममा प्रदेश सभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), समाजबादीलगायतले संयुक्त स्वतन्त्र प्रगतिशील प्यानल निर्माण गरी उम्मेद्वार घोषणा गरिएको हो ।
उक्त निर्वाचनबाट ४ जना पदाधिकारीहरु र ५ जना सदस्यहरु चयन हुनेछन् । खानेपानी संस्था उपभोक्ताहरुको योगदानमा सञ्चालित सामाजिक संस्था भएकाले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने मान्यता विगतदेखि नै रहि आएको अध्यक्ष पदका उम्मेद्वार सिटौलालले बताए । तर, त्यस्तो हुन नसकेकाले बिर्तामोडका क्रियाशील मुख्य राजनीतिक शक्तिहरु तथा स्वतन्त्र सामाजिक व्यक्तिहरु मिलेर निर्वाचनमा सामुहिक प्रतिष्पर्धा गर्ने उद्देश्यले स्वतन्त्र प्रगतिशील प्यानल निर्माण गरेको अध्यक्ष पदका उम्मेद्वार सिटौलालले बताए ।
उम्मेद्वार सिटौलालले आफु नेतृत्व प्यानलले जिते हाल १३ हजार मा जडान गरिदै आएको धारा ९ हजार रुपैयाँमा जडान गरिने, महसुल घटाउने, ठाउँ–ठाउँमा सार्वजनिक धारा जडानलगायत कार्य गर्ने प्रतिबद्धता गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि कार्की, नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटी सदस्य कुवेर श्रेष्ठ (अरुण) लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी गणेश पोखरेलले गरेका थिए ।