विजयपुर । मगर अक्खा लिपि प्रशिक्षण सम्पन्न भएको छ । शनिबार नेपाल मगर सङ्घ धरान नगर समितिको आयोजना र धरान उपमहानगरको आर्थिक सहयोगमा सञ्चालित प्रशिक्षण सम्पन्न भएको हो । दुई समूहमा सञ्चालित प्रशिक्षणको धरान–१६ स्थित नेपाल मगर सङ्घको हलमा सम्पन्न भएको हो ।

‘मगर अक्खा लिपि प्रशिक्षण’ अन्तर्गत समूह ‘क’ धरान–१ स्थित नेपाल रेडक्रस सोसाइटी सुनसरीको सभाहलमा भएको थियो । समूह ‘क’ को प्रशिक्षण वैशाख १७ देखि २३ गतेसम्म सञ्चालित भएको थियो । समूह ‘क’ मा ८ जना प्रशिक्षार्थी सहभागी भएको सङ्घका नगर अध्यक्ष चित्र मगरले जानकारी दिए ।

समूह ‘ख’ को प्रशिक्षण धरान–६ को सरस्वती मावि पानबारीमा भएको थियो । समूह ‘ख’ को प्रशिक्षण वैशाख २३ देखि ३० गतेसम्म भएको थियो । समूह ‘ख’ मा १८ जना प्रशिक्षार्थीहरू सहभागी थिए । प्रशिक्षणमा समूह ‘क’ बाट रचना मगर र समूह ‘ख’ बाट नम्रता राना मगर उत्कृष्ट भएका थिए । प्रशिक्षणको सहजीकरण प्रशिक्षक लीला राना मगरले गरेकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघा, नेपाल आदिवासी जनजाति महासङ्घ धरानका सह–सचिव कर्ण सुनुवारलगायतले प्रशिक्षक तथा सहभागीहरूलाई प्रमाण–पत्र प्रदान गरेको मगर सङ्घका सह–सचिव नाखानचक्र थापा मगरले बताए ।