इनरुवा । साउदी अरेबियाको मक्कामा हिँडेका हजयात्रीहरूले सरकारले चर्को शुल्क लिने गरेको भन्दै गुनासो गरेका छन् ।
भोक्राहा नरसिंह गाउँपालिकाले हजयात्रीलाई बिदाइ गर्ने क्रममा हजयात्री तथा मुस्लिम समुदायका अगुवाले हजयात्रीलाई चर्को शुल्क लिने गरेको गुनासो गरे । कार्यक्रमका प्रमुख अतिथि सङ्घीय सांसद् ज्ञानेन्द्रबहादुर कार्कीलाई हजयात्रामा जानेहरूबाट राज्यले चर्को शुल्क लिने गरेको गुनसो पोखे ।
सरकार मुस्लिम समुदायका लागि सोचेअनुरूपको सेवा सुविधा भने नदिएको गुनासो गरेका थिए । गाउँपालिका अध्यक्ष अजमल आजादले हजयात्रीमार्फत् सिङ्गो पालिका र मुलुकको समृद्धि र विकासको कामना गरे । उनले हजयात्रीका लागि आफु र पालिकाको तर्फबाट यथासक्य सहयोग रहने बताए । अध्यक्ष आजादले हजयात्रीका गुनासाहरू राज्यले अविलम्ब सम्बोधन गर्नुपर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि सांसद् कार्कीले हजयात्रीका गुनासा र समस्याबारे सदनमा आवाज उठाउने बताए । उनले हजयात्रामा जाने सबैलाई शुभकामना व्यक्त गर्दै विशेष प्रकारको नमाज र प्रार्थनाका क्रममा राष्ट्रहितको कामना गर्न आग्रहसमेत गरे ।
मुस्लिम समुदायमा साउदी अरबको मक्कामा गएर हज गर्नुलाई जीवनको ठूलो र महत्वपूर्ण धार्मिक उपलब्धिका रूपमा लिने गरिन्छ । नेपाल सरकारले हज यात्रामा जानेहरूका लागि जिल्लास्तरमा हज कमिटी निर्माण गरेको छ । सोही कमिटीको सिफारिसका आधारमा सरकारले उनीहरूलाई हज यात्रामा पठाउने गर्दछ । यसैबीच गाउँपालिकाले हजयात्रीलाई सम्मान पनि गरेको छ ।