भद्रपुर । सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह वाहिनी मुख्यालय सुनसरीका डिआइजी अञ्जनी कुमार पोखरेलले जनशक्ति अभावका कारण सीमा रक्षाका लागि एक प्रहरीले १८ घण्टासम्म डियुटी गर्दै आइरहेको बताए ।

 सशस्त्र प्रहरी २ नम्बर गण झापाको १६ औँ स्थापना दिवसको अवसरमा सोमबार आयोजना गरिएको कार्यक्रममा डिआइजी पोखरेलले यस्तो बताएका हुन् । 

कोशी प्रदेशमा लगभग ५ हजार सुरक्षाकर्मीले सीमा र कार्यालयको सम्पादन कार्य गर्दै आइरहेको सुनाए । सीमा क्षेत्रमा १ किलोमीटर बराबर २ जनाले सुरक्षा दिनुपरेको दुखद जानकारी गराएका थिए । त्यही सीमा रक्षाको लागि भारतले १३ हजार २ सय ५६ प्रहरी सीमामा खटाउँदै आएको उनको भनाइ थियो ।

भारतले १ किलो मीटरमा २५ जनासम्म खटाउँने गरेको उनले बताए । प्रहरी कर्मचारीले अहोरात्र खटेर भएपनि सीमामा हुने गतिविधिलाइ नियन्त्रण गर्दै आइरहेको उनले दाबी गरे । अबको सेवा गुणात्मक र गणगस्तरीय हुन जरुरी रहेको उनले बताए ।

प्रदेशमा हाजिर भइसकेपछि सङ्गठन सुधार र सुदृढिकरण गरिरहेको उनले जनाए । सङ्गठनको हित विपरीत  कार्य गर्ने १० जना विभिन्न पदका प्रहरीलाइ कार्यक्षेत्रबाट फिर्ता बोलाइ कारबाहीको दायरामा ल्याइसकेको उनले सुनाए । दूरदराजका व्यत्तिले तिरेको करबाट तलव खाइरहेका प्रहरी कर्मचारीले आर्थिक शुन्यसहनसिलतामा काम गर्नु पर्ने उनले सुझाव दिए । 

गण माहतमा प्रस्तावित सीमा सुरक्षा गुल्म ४ ,१६ विओपी र ६ वटा सुरक्षा वेस रहेको गण नम्बर २ का एसपी देवराज अर्यालले बताए । अन्य थप २० वटा प्रस्तावित विओपी स्थापनाका लागि नेपाल सरकारबाट स्वीकृत भएका मध्ये आल्तामारीर डाँगीबारी सञ्चालनमा आएको र लालमाटी निर्माणाधीन रहेको साथै बाँकी विओपी स्थापनाका लागि जग्गा खोजिकार्य भइरहेको उनले बताए ।

जिल्लामा १४४ दशमलव २ मीटर सीमा दुरीमा ७० मुख्य सीमा स्तम्भ १०८ सहायक ,८१० साना र रिफ्रेन्स ७ वटा गरी ९९५ वटा सीमा स्तम्भ रहेको बताए । भद्रपुर ८ मा ४ विगाह १४ कठ्ठामा वि.सं. २०६४ जेठ ८ गते स्थापना भएको उनले जनाए । 

कार्यक्रममा साताव्यापी गरिएका विभिन्न प्रकारका खेलकुद र मनोरन्जनात्मक प्रतियोगिताका विजेतालाइ पुरस्कृत गरिएको थियो भने उत्कृष्ट प्रहरी कर्मचारी ,अमर प्रहरीका परिवारलाइ सम्मान समेत गरिएको थियो । 

इस्सपेक्टर रामकुमार घिमिरेले सञ्चालन गरेको कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेल, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले शुभकामना मन्तव्य राखेका थिए ।