धरान । धरान उपमहानगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा जनसरोकारका विषयलाई समेट्न नेकपा (एकीकृत समाजवादी) पार्टी धरान नगरसमितिले ध्यानाकर्षण गराएको छ ।
सोमबार समितिले पत्रकार सम्मेलन गर्दै जनसरोकारका विषयलाई समावेश गरी नीति तथा कार्यक्रम साथै बजेट बनाउन ध्यानाकर्षण गराएको हो । नगर अध्यक्ष रेवतीरमण राईले २५ सूत्रीय जनसरोकारका विषयलाई समेट्न माग गर्दै धरान नगरप्रमुख हर्कराज राईलाई सोमबार मध्यान्ह १२ बजेको समय माग गरिए पनि भेट नदिएको बताए । उनले धरान नगरमा शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्, भौतिक पूर्वाधार, सामाजिक विकासका मुद्दाहरूलाई पनि उस्तै गरी ध्यान दिनुपर्ने बताए ।
आगामी वर्षको नीति तथा कार्यक्रम बनाउँदा सरकारी सेवा प्रवेशका लागि लोकसेवा आयोग तथा सेवा आयोगको तयारी कक्षाको व्यवस्था, लागूऔषध दुव्र्यसन तथा ओसार–पसार नियन्त्रण गर्ने विशेष अभियान सञ्चालन गरिनुपर्ने बुँदाहरू समेटिएका छन् । त्यस्तै क्षतिपूर्तिसहितको नागरिक सेवा प्रवाहको ग्यारेन्टी, सवारी साधन पार्किङस्थलको उचित व्यवस्थापन, धरान–६ पानबारीमा निर्माणाधीन औद्योगिक ग्रामलाई यथाशीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याउनुपर्ने माग रहेको अध्यक्ष राईले बताए ।
त्यस्तै फोहोर व्यवस्थापनका लागि दीर्घकालीन आधुनिक डम्पिङ साइडको व्यवस्था, ब्रिटिस/भारतीय सेवाको अन्तिम छनौटस्थल धरानमा पुनस्र्थापना गरिनुपर्ने, धरानका सबै स्थानमा सीसी क्यामेरा जडान गरी शान्ति सुरक्षाको व्यवस्था गरिनुपर्ने भन्दै नगरलाई ध्यानाकर्षण गराएको छ । त्यस्तै धरानलाई सूचना प्रविधिको केन्द्र बनाई सूचना प्रविधिको बजारीकरण गरिनुपर्ने, धरान बजार तथा वरपर सौन्दर्यीकरण गर्नुपर्ने, धरानलाई शैक्षिक हब, स्वास्थ्य हब, खेलकुद तथा साहसिक खेलकुदको हब बनाई पर्यटक आकर्षित गर्नुपर्ने माग राखिएका छन् ।
स्थानीय सरकारले असार १० गतेसम्म बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यस्तै असार ५ गतेभित्र नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्छ । यही सेरोफेरोमा एकीकृत समाजवादीले नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयहरूबारे अगवत गराएको हो । अध्यक्ष राईले नगरप्रमुख हर्कराज राईले समाजवादीलाई भेट गर्ने समय नदिएकोमा आपत्ति पनि जनाएको छ । ‘हाम्रा मागहरू के त्यस्ता थिए र नगरप्रमुख डराउनुपर्ने ?’ उनले भने, ‘हामीले कुनै त्यस्तो माग लिएर गएको जस्तो त लाग्दैन ।’ समाजवादीले धरानका थुप्रै विषयलाई समेटेर ध्यानाकर्षण गराएको हो । नगरप्रमुख राईले भेट नदिएपछि पार्टीले उपप्रमुख अइन्द्रविक्रम बेघालाई ध्यानाकर्षण पत्र बुझाएको सचिव खेमप्रसाद दाहालले जानकारी दिए ।