सुनसरी जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजीविरुद्ध दुई सय ४९ जनाले उजुरी दर्ता गराएका छन् । सरकारले मिटर ब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै दुई सय ४९ जनाले उजुरी दिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डले जानकारी दिएका छन् । वैशाख १७ गते उजुरी आह्वान गरिएकामा जेठ ८ गतेसम्ममा दुई सय ४९ मिटर ब्याजी पीडितले उजुरी दिएका उनले भनेका छन् । 

प्रशासनले जारी गरेको सूचनामा मिटर ब्याजीले गरेको ठगी र शोषणविरुद्ध सम्भव भएसम्म आ–आफ्ना बढी तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न भनिएकामा समयसीमा भित्र दुई सय ४९ जनाको उजुरी दर्ता भई आएको प्रजिअ पाण्डेले जानकारी दिए ।

सूचना जारी भएपछि मिटर ब्याजको धन्दा सञ्चालन गर्ने गिरोह, व्यक्ति र संस्थाबाट पीडित भएको भन्दै सर्वसाधारणबाट दुई सय ४९ बिरुद्ध उजुरी परेकामा दुईजना प्रतिनिधि पनि रहेका छन्  । इनरुवा ६ का वडाध्यक्ष सुमन थापा र कोसी–१ का वडाध्यक्ष सोभितनारायण यादवविरुद्व उजुरी आएको प्रजिअ पाण्डेले बताएका छन् । प्राप्त निवेदनमाथि प्रमाणका आधारमा पहिलो चरणमा पक्षबीचमा छलफल गर्ने र त्यसपछि थप समन्वय गरी मुद्दा चलाउने तयारी भइरहेको प्रशासनले जनाएको छ ।

—रासस