पराम्परागत खुकुरी बनाउने पेसा संकटमा परेपछि यसको यहाँ संरक्षण थालिएको छ । नयाँ पुस्ताको रोजाइमा नपर्नु तथा आवश्यक औजार, उपकरण र कच्चापदार्थको अभावका कारण पेसा संकटमा पर्दै गएपछि संरक्षण थालिएको हो । टेम्केमैयुङ गाउँपालिका–६ कोटले यस पेसामा लागेकालाई लक्षित गरेर प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेको छ ।
यहाँका वडाभित्र रहेका कालिगढलाई आवश्यक पर्ने प्राविधिक उपकरण खरिदमा वडाले सहयोग गरेको जनाएको छ । दिनानुदिन पेसा छाड्नेको संख्या बढ्न थालेपछि उनीहरुलाई आवश्यक सहयोग गर्दै प्रोत्साहनको कार्यक्रमलाई अघि बढाइएको टेम्केमैयुङ–६ का वडाध्यक्ष सूर्यप्रसाद नेपालले जानकारी दिएका हुन । वडाले रु एक लाख बजेट विनियोजन गरेर आवश्यक उपकरण खरिदमा सहयोग गरेको उनको भनाइ छ ।
“पछिल्लो समय वडामा भएका कालिगढ पलायन हुँदै गएको अवस्था छ”, वडाध्यक्ष नेपालले भने, “अहिले हामी यो पेसाको संरक्षणमा जुटेका छौँ, उहाँहरुको आवश्यकतालाई पहिचान गर्दै वडाले आवश्यक सहयोग गर्दै आएका छ ।”
भोजपुरे खुकुरीले नाम कमाएको भोजपुरमा कालिगढ पेसा संकटमा पर्दै गएपछि संरक्षणमा लागेको वडाध्यक्ष नेपालको भनाइ छ । स्थानीय सरकारले यसको स्थायित्व तथा संरक्षणमा जोड दिएको उनको भनाइ छ । “विगतमा हाम्रो ठाउँमा कालिगढ धेरै सङ्ख्यामा थिए”, उनले भने, “अहिले व्यावसायिक रुपमा यो काम गर्ने छ÷सात घरमात्र छन्, संरक्षण गरिएन भने यो पेसा संकटमा पर्ने अवस्था छ ।”
सामुदायिक वनबाट सहज रुपमा कोइला ल्याउन पाउने अवस्था नहुँदा समस्या हुने गरेको कालिगढको भनाइ छ । उत्पादन गरेका खुकुरीले पनि मेहनत अनुसारको मूल्य पाउन नसक्दा मानिसको यस पेसाप्रति रुचि घट्दै गएको टेम्केमैयुङ–६ का कालिगढ भीमप्रसाद रसाइलीले बतनएका छन । राज्यका तर्फबाट यसको विकास तथा संरक्षणमा अझ ध्यान दिनुपर्ने उनको भनाइ छ ।
“दैनिक रुपमा आवश्यक पर्ने अत्यावश्यक औजार उपकरण बनाउने भए पनि यो पेसालाई मान्छेले अझै पनि अपहेलनाका रुपमा लिने चलन छ”, उनले भने, “मेहनत गरे अनुसारको प्रतिफल लिन गाह्रो छ, कच्चापदार्थको अभाव छ, फलामको मूल्य बढ्दो छ, तर उत्पादित सामग्रीलाई सोचेअनुसारको मूल्यमा बिक्री गर्ने बजार छैन, विचौलियालाई बेच्नुपर्ने अवस्था छ, राज्यले उत्पादित वस्तुको सही मूल्य पाउने वातावरण निर्माणसँगै आवश्यक सहयोग गर्नुपर्ने देखिन्छ ।”
अहिले उत्पादित सामग्रीलाई स्थानीय बजारमा लगेर बेच्ने गरेको उनको भनाइ छ । यनका कालिगढले भोजपुरे, सिरुपाते, चित्लाङले, कोथीमोडा लगायतका खुकुरी बनाउने गरेका छन् । ती खुकुरी विश्व बजारमा समेत प्रख्यात छन् । व्यवसाय सञ्चालनमा कच्चापदार्थ र बजारको समस्या रहेको कालिगढ महेन्द्र रसाइलीले बताए ।
राम्रो आम्दानी नहुने देखेपछि धेरै खुकुरी बनाउने कालिगढ सुन बनाउने कामतिर लागेको उनको भनाइ छ । आफूले भने अहिले पनि यही पेसा गरिरहेको उहाँले बताएका छन् । “धेरैले कालिगढ पेसा छाड्दै गएको अवस्था छ”, उनले भने, “गाउँघरमा उत्पादन भएको सामग्रीको बजारीकरणमा समस्या छ, हामी अझै पनि विचौलियाको मारमा छौँ, मेहनत गरेअनुसारको आम्दानी लिन सकिँदैन, राज्यले यसतर्फ ध्यान दिन आवश्यक छ ।”
परम्परागत पेसालाई संरक्षण गर्न काम गरिरहेको भए पनि स्थानीय सरकार तथा सरोकारवाला पक्षले यसमा चासो नदिएको उनले गुनासो गरे । राज्यले यही पेसा गरेर जीवनयापन गर्न सक्ने वातारण सिर्जना गरिदिए पेसाको संरक्षणमा टेवा पुग्ने उनको भनाइ छ ।
–रासस